जन आकाश
काठमाडौं । लगातारको वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ। वर्षासँगै आएको पहिरोका कारण कालीगण्डकी करिडोरको गुल्मी खण्ड तथा बुटवल हुँदै बुर्तिबाङ जाने सडक अवरुद्ध भएका छन्।
कालीगण्डकी गाउँपालिका–२ राक्से र वडा नम्बर ४ को पातिखोलामा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको हो। त्यस्तै, चन्द्रकोट गाउँपालिका–७ को चिउरेनी भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। वर्षाका कारण बागलुङ हुँदै बगेर आउने बडीगाड खोलामा समेत जलसतह बढेको छ।
जल तथा मौसम विज्ञान विभागले गुल्मीमा अत्यधिक वर्षाको सम्भावना रहेको र बाढीपहिरोलगायतका जोखिम बढ्न सक्ने आकलन गरेपछि स्थानीय तहहरूले बुधबारदेखि विद्यालय बन्द गरेका छन्।
यसैबीच, लगातारको वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा रेसुङ्गा नगरपालिका–२ स्थित उपप्रमुख अमृतादेवी कुँवरको घर जोखिममा परेको छ। शुक्रबार बेलुका पहिरो खसेपछि कुँवरको पाँच जनाको परिवार आफन्तको घरमा बसाइँ सरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पहिरोको जानकारी पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर पहिरोसँगै आएका रुख तथा अवरोध हटाएको थियो। त्यस्तै, पहिरोका कारण सत्यवती गाउँपालिका–ठूलोलुम्पेकका भीम सिजापतिको परिवार पनि विस्थापित भएको गाउँपालिकाले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend