logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

चोलेन्द्रलाई पक्राउ गरेर न्यायालय तर्साउन खोजिएको भए सरकारलाई घातक हुन्छ : प्रचण्ड


  • जन आकाश
  • सोमबार, असोज १२ २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजिएको हो भने त्यो सरकारका लागि घातक हुने बताएका छन्।



सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सुरक्षा थ्रेटको नाममा पूर्वप्रधानन्यायाधीश जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन्।

उनले सरकारले विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने ‘दुस्साहस’ गरे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। ‘यदि सरकारले छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ,’ उनले भने।

प्रचण्डले सुरक्षा खतरा भएको भए पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको घरमा सुरक्षाकर्मी थप्नुपर्ने बताए। ‘यो सबैले बुझेको छ, सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो। यदि त्यसो भने त सुरक्षा बढाइदिने हो नि,’ उनले भने।

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर पछि छाड्नुको वास्तविक तथ्य विस्तारै बाहिर आउने दाबी गर्दै प्रचण्डले आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन सरकारको ध्यानाकर्षण गराए। यसैबीच, प्रचण्डले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधन मुलुकले भोगिरहेको समस्याका सन्दर्भमा स्वाभाविक रहेको बताएका छन्।

प्रधानमन्त्री शाहको सम्बोधनलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न नहुने उनको भनाइ छ। ‘बालेनजीको ठाउँमा अरू कोही गएको भए पनि अहिले बोल्ने त्यही कुरा हुन्थ्यो। बालेन गएर यो कुरा बोले, अरू गएको भए बोल्दैनथ्यो भन्ने कुरा सोचियो भने त्यो पनि सही हुँदैन,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend