logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

सीपलाई रोजगारी र उत्पादनसँग जोडेर युवालाई स्वदेशमै अवसर दिनुपर्छ : सभामुख अर्याल


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।



श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को उद्घाटन गर्दै सभामुख अर्यालले सीप अहिले अतिरिक्त योग्यता मात्र नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार बनेको बताए।

संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यसलाई व्यवहारमै अनुभूति हुने गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै सभामुख अर्यालले यसलाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए।

उनले बजारको मागअनुसारको सीप, सीपअनुसारको रोजगारी र रोजगारीसँग जोडिएको उत्पादनलाई श्रम तथा रोजगार नीतिको महत्वपूर्ण आधार बनाउनुपर्ने धारणा राखे।

आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोशी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन भएको स्मरण गर्दै उनले उक्त मेलामा ४१ हजार ३२५ जनाले अवलोकन गरेको, १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएको र रोजगारदाताले १४ हजार ७८८ रोजगारीका लागि माग गरेको जानकारी दिए।

स्वदेशमा रोजगारी खोज्ने युवाको संख्या र जनशक्ति अभावमा विदेशी कामदार ल्याउनुपर्ने अवस्थाबीचको असन्तुलन अन्त्य गर्न सीप विकास र श्रम बजारबीच तालमेल आवश्यक रहेको उनको भनाइ छ। ‘श्रमाधान कल सेन्टर’ लगायतका पहललाई थप प्रभावकारी बनाउँदै आन्तरिक रोजगारी विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

असोज २० गतेसम्म सात दिन सञ्चालन हुने मेलामा उद्यमशीलता, डिजिटल मार्केटिङ, आतिथ्य सत्कार, ब्युटिसियन, कुक तथा वेटर, इलेक्ट्रिक सवारी तथा वातानुकूलन (एसी) मर्मत र बारिस्तालगायत १० वटा विषयमा निःशुल्क छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिनेछ।

मेलामा ६५ वटा स्टलमार्फत रोजगारदाता, तालिम प्रदायक संस्था तथा बैंक तथा वित्तीय संस्थाहरूको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend