logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आपत्कालीन संकेत पठाएपछि फ्लाईदुबईको विमान साउदी अरबमा अवतरण


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानले उडानका क्रममा आपत्कालीन संकेत पठाएपछि साउदी अरबको तबुक विमानस्थलमा अवतरण गरेको छ। विमान अपहरण भएको आशंका गरिए पनि पछि त्यसलाई अस्वीकार गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ।



इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले विमानमा रहेका पाइलटबीच भएको विवादका कारण घटना भएको हुनसक्ने जनाएको छ। उडानका क्रममा विमानले सुरुमा अन्तर्राष्ट्रिय आपत्कालीन संकेत ‘स्क्वाक कोड ७७००’ पठाएको थियो। त्यसपछि ‘७५००’ संकेत पठाइएको थियो, जुन विमान अपहरण वा गैरकानुनी हस्तक्षेप भएको अवस्थामा प्रयोग गरिन्छ।

‘७५००’ संकेत प्राप्त भएपछि इजरायली वायुसेनाका लडाकु विमानहरू उक्त विमानतर्फ पठाइएको बताइएको छ। करिब १८० यात्रु सवार विमान साउदी अरबको आकाशमा पुगेपछि आफ्नो मार्ग परिवर्तन गरी तबुक विमानस्थलतर्फ गएको थियो। अन्ततः विमान तबुक विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरिएको थियो।

घटनापछि इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले वरिष्ठ सुरक्षा अधिकारीहरूसँग छलफल गरेका थिए। छलफलमा इजरायली वायुसेना प्रमुख मेजर जनरल ओमेर टिस्लर, अपरेसन निर्देशनालय प्रमुख मेजर जनरल इट्जिक कोहेन र इन्टेलिजेन्स निर्देशनालय प्रमुख मेजर जनरल श्लोमी बिन्डर सहभागी थिए।

इजरायली सञ्चारमाध्यमका अनुसार घटनाका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले पनि आकस्मिक छलफल गरेका थिए। यसअघि विमान आपत्कालीन संकेत पठाएपछि केही समय उडान ट्र्याकिङ वेबसाइटबाट समेत हराएको बताइएको थियो।

प्रारम्भिक विवरणमा पाइलटबीचको विवादलाई घटनाको सम्भावित कारणका रूपमा उल्लेख गरिएको भए पनि विमानले किन ‘७५००’ संकेत पठायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ। घटनाको पूर्ण विवरण सम्बन्धित अधिकारीहरूको अनुसन्धानपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend