logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

आङ्देम्बेको सरकारमाथि प्रश्नैप्रश्न : ‘बहुमत छ, तर शासकीय कौशल कहाँ छ?’


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई जनताको जीवन परिवर्तन गर्ने गरी काम गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग स्पष्ट बहुमत भए पनि त्यसलाई प्रभावकारी शासन र परिणाममा बदल्ने शासकीय कौशल देखिन नसकेको टिप्पणी गरे।



आङ्देम्बेले सरकारको पछिल्लो ६ महिनाको कार्यसम्पादन उत्साहजनक नभएको भन्दै जनताको जीवन कठिन बन्दै गएको दाबी गरे। उनले बहुमतले सरकार बनाउन सक्ने भए पनि जनताको विश्वास टिकाउन दृष्टि, संवाद, समन्वय, संस्थागत सम्मान र परिणाम आवश्यक पर्ने बताए।

उनले संसद्लाई सरकारको प्रतिस्पर्धी नभई लोकतन्त्रको साझेदार संस्था भएको भन्दै प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने धारणा राखे। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि र फर्किएपछि संसद्लाई पर्याप्त जानकारी नगराएको विषयमा पनि उनले प्रश्न उठाए।

आङ्देम्बेले संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयसमेत उठाउँदै संसद् सत्ता पक्ष र प्रतिपक्ष दुवैको साझा संस्था भएकाले त्यसको मर्यादा कायम गर्न आग्रह गरे। उनका अनुसार प्रश्नबाट भाग्ने होइन, प्रश्नको सम्मान गर्ने शासन आवश्यक छ।

अर्थतन्त्र, विपद् व्यवस्थापन, विकास निर्माण, कानून कार्यान्वयन, निजामती प्रशासन र विदेश नीतिमा पनि सरकारले सुधार गर्नुपर्ने उनको धारणा थियो। विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सरकारको क्षमता प्रभावकारी रूपमा देखिनुपर्ने उनले बताए।

उनले विकास निर्माणमा भाषण र शिलान्यासभन्दा आयोजना सम्पन्न गर्ने गति आवश्यक रहेको, कानून निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने तथा निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त र परिणाममुखी बनाउनुपर्ने बताए।

अन्त्यमा आङ्देम्बेले सरकारलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै प्रतिपक्षको भूमिका सरकारको विरोध मात्र नभई सही दिशामा अघि बढाउन दबाब र सहयोग गर्नु पनि भएको बताए। उनले भने, “तपाईंलाई नेपाली जनताले दिएको जनादेश जनतामाथि मनपरी शासन गर्न होइन, जनताको जीवन बदल्न हो। बहुमत सरकारको शक्ति त होला, तर शासकीय कौशल भनेको सरकारको परीक्षा हो।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend