जन आकाश
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको आपूर्ति सहज बनाउने, उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्ने तथा आयात निर्भरता घटाउने सरकारको योजना प्रस्तुत गरेका छन्।
शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री साहले एलपी ग्यास समस्या समाधानका लागि तत्काल राहत, मध्यम अवधिमा प्रणाली सुधार र दीर्घकालीन ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखिएको बताए।
उनका अनुसार ग्यासको आयात, ढुवानी, भण्डारण, रिफिलिङ, वितरण तथा मागको भौगोलिक असन्तुलनलगायत विषयमा प्राविधिक अध्ययन भइरहेको छ। सरकारले ग्यासको भण्डारण तथा बोटलिङ क्षमता बढाउनुका साथै आपत्कालीन मौज्दात राख्ने तयारी गरिरहेको उनले जानकारी दिए।
मन्त्री साहले खाना पकाउन आयातित एलपी ग्यासमाथिको निर्भरता घटाउँदै स्वदेशी विद्युत्को खपत बढाउनुपर्नेमा जोड दिए। नेपाललाई आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजानुपर्ने उनको भनाइ थियो।
धान र मकै उत्पादनको वास्तविक अवस्था पहिचान गर्न स्याटेलाइट म्यापिङ प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले बाँझो तथा कम उपयोग भएको जमिनमा मकै, कोदो र फापरजस्ता स्थानीय बालीको उत्पादन तथा प्रशोधन बढाउनुपर्ने बताए।
मन्त्री साहले बजार अनुगमनलाई व्यवसायीलाई त्रसित बनाउने माध्यम नभई स्वच्छ प्रतिस्पर्धा र उपभोक्ताको अधिकार सुनिश्चित गर्ने प्रक्रियाका रूपमा अघि बढाइने बताए।
बैठकमा उपभोग्य वस्तुको आपूर्ति, मूल्य नियन्त्रण, बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणलगायत विषयमा समितिका सदस्य र मन्त्रालयका अधिकारीहरूले समेत धारणा राखेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend