logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस देउवा पक्षले लुम्बिनीमा वडा अधिवेशन तीव्र पार्‍यो, अधिकांश वडामा सम्पन्न


  • जन आकाश
  • सोमबार, असोज १९ २०८३

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशका जिल्लाहरूमा वडा अधिवेशनलाई तीव्रता दिएको छ।



केन्द्रले तय गरेको कार्यतालिकाअनुसार लुम्बिनीका विभिन्न जिल्लामा वडा अधिवेशन भइरहेको देउवा पक्षका लुम्बिनी प्रदेश नेता गेहेन्द्र गिरीले जानकारी दिएका छन्।

उनका अनुसार अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी वडामा पनि सोमबार साँझसम्म अधिवेशन सम्पन्न गर्ने गरी नेता तथा प्रतिनिधिहरू परिचालन गरिएको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्युठानमा वडा अधिवेशन पूर्ण रूपमा सम्पन्न भई पालिका अधिवेशनसमेत सकिएको छ। अन्य जिल्लामा पनि वडा अधिवेशन अन्तिम चरणमा पुगेको बताइएको छ।

रुपन्देहीमा मात्रै १२५ भन्दा बढी वडाको अधिवेशन सम्पन्न भइसकेको केन्द्रबाट खटिएका डा. दामोदर भुसालले जानकारी दिएका छन्। बाँकी वडाको अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशन अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ।

देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेसँगै आन्तरिक तयारीलाई तीव्र बनाएको छ। सोही योजनाअनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला संयोजक तोकेर संगठनात्मक गतिविधि अघि बढाइएको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend