logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गगन थापाको समर्थकमा खगेन्द्र दुलाल : राजनीतिमा देखेको नेतृत्वकै साथमा उभिन पाउँदा जीवनकै ठूलो खुशी


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्र नयाँ नेतृत्व, नयाँ पुस्ता र राजनीतिक पुस्तान्तरणको बहसलाई थप तीव्र बनाइरहेका बेला दैलेखका युवा नेता तथा कलाकार खगेन्द्र दुलाल चर्चामा आएका छन्।



दैलेख निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका दुलालले सभापति पदका उम्मेदवार गगन थापाको समर्थकका रूपमा उभिने अवसर पाएका छन्।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय दुलालले आफूले राजनीतिमा प्रेरणाका रूपमा हेर्दै आएको नेतृत्वकै उम्मेदवारीमा समर्थक बस्न पाउनु आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण र अविस्मरणीय क्षण भएको बताएका छन्। दुलाल विगत १५ वर्षदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका युवा नेता हुन्।

राजनीतिसँगै कला तथा संगीत क्षेत्रमा समेत सक्रिय रहेका उनले गीत–संगीतमा शब्द, संगीत तथा गायनमार्फत आफ्नो छुट्टै पहिचान बनाएका छन्। प्राविधिक शिक्षातर्फ डिप्लोमा सिभिल इन्जिनियरिङ अध्ययन गरेका दुलाल युवा पुस्तामाझ राजनीतिक तथा सामाजिक गतिविधिका कारण पनि परिचित छन्।

गगन थापाको समर्थक बन्न पाएको विषयलाई दुलालले सामान्य राजनीतिक जिम्मेवारीका रूपमा मात्र लिएका छैनन्। आफू राजनीतिमा प्रवेश गर्दा र निरन्तर राजनीतिक यात्रामा अघि बढ्दा जसलाई आशा, सम्भावना र परिवर्तनको नेतृत्वका रूपमा हेरेको थिएँ, आज उहाँकै उम्मेदवारीमा समर्थकका रूपमा उभिन पाउनु जीवनकै ठूलो खुशी र अमूल्य उपहारजस्तै लागेको दुलालको भनाइ छ।

उनका अनुसार, “राजनीतिमा लाग्ने क्रममा जसको विचार, नेतृत्व र परिवर्तनको अभियानबाट प्रभावित भएर अघि बढियो, आज त्यही नेतृत्वको उम्मेदवारीमा समर्थक बन्न पाउनु मेरा लागि गौरवको विषय हो। यो मेरो राजनीतिक यात्राको विशेष क्षण हो।”

थापाले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा समर्थक छनोटमा पनि सातै प्रदेशको प्रतिनिधित्वलाई ध्यान दिएको देखिन्छ। त्यसैक्रममा कर्णाली प्रदेशबाट पार्टीभित्र लामो समयदेखि सक्रिय तथा थापानिकट युवा नेताका रूपमा परिचित दुलाललाई समर्थकका रूपमा अघि सारिएको हो।

दुलाललाई समर्थक बनाउनु केवल औपचारिकता नभई कर्णालीमा नयाँ पुस्ताको प्रतिनिधित्व, युवा सहभागिता र पार्टीभित्रको पुस्तान्तरणको सन्देशका रूपमा समेत हेरिएको छ। दैलेखबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका दुलालले कर्णालीको युवा आवाजलाई राष्ट्रिय पार्टी नेतृत्वको बहससँग जोड्ने अवसर प्राप्त गरेका छन्।

नेपाली कांग्रेसभित्र पछिल्लो समय युवा पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस बलियो बन्दै गएको छ। यस्तो अवस्थामा दुलालजस्ता युवा महाधिवेशन प्रतिनिधिको भूमिका अझ महत्वपूर्ण मानिएको छ। राजनीतिसँगै सिर्जनात्मक क्षेत्रमा समेत सक्रिय रहेका दुलालको उपस्थितिले पार्टीको नयाँ पुस्ता र युवा पुस्ताको आकर्षणलाई समेत प्रतिनिधित्व गर्ने देखिन्छ।

१५औँ महाधिवेशनलाई नेपाली कांग्रेसको नयाँ राजनीतिक यात्राका रूपमा हेरिरहेका दुलालले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै युवा पुस्ताको आशा र भरोसालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। “आजको आवश्यकता युवाको सक्रिय सहभागिता र सक्षम नेतृत्व हो। कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा, विचार र नेतृत्वसँग जोड्दै अघि बढाउनुपर्छ,” दुलालको धारणा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend