logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता, सुरक्षा सहकार्य र व्यापारिक समस्या समाधानबारे छलफल


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका गृहमन्त्री गुरुङ र उनका भारतीय समकक्षी शाहबीच मंगलबार भेटवार्ता भएको हो।



गृह मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल र भारतबीचका साझा सुरक्षा चासोका विषयमा छलफल भएको थियो। दुवै देशबीच सुरक्षा क्षेत्रमा समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा उनीहरूले विचारविमर्श गरेका थिए।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा पहुँच प्राप्त गर्ने क्रममा भोग्दै आएका प्राविधिक समस्याबारे पनि चासो व्यक्त गरेका थिए। विशेषगरी भारतीय मानक ब्युरो (बीआईएस) प्रमाणीकरणलगायतका प्रक्रियामा देखिएका समस्या समाधान गर्न उनले भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए।

नेपालको चासोप्रति भारतीय गृहमन्त्री शाहले सकारात्मक प्रतिक्रिया दिएको गृह मन्त्रालयले जनाएको छ।बिम्स्टेकको प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। उनी यही असोज २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend