जन आकाश
काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएका गृहमन्त्री सुधन गुरुङ आज स्वदेश फर्कने भएका छन्।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार मंगलबार बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आतंकवाद तथा सीमापार अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका थिए। उनले सूचनाको सुरक्षित आदानप्रदान, समन्वयात्मक कदम र प्रतिबद्धताको समयमै कार्यान्वयनमा जोड दिएका थिए। साथै, विपद् तयारी तथा प्रतिकार्यका लागि संयुक्त कार्यदलसहितको बिम्स्टेक क्षेत्रीय ढाँचा निर्माण गर्न प्रस्ताव गरेका थिए।
बैठकका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् तयारी र प्रतिकार्यमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ। सो अवसरमा गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend