जन आकाश
काठमाडौं । एनएमबी बैंकले ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्यापिड टेक प्रा. लि.सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ। व्यावसायिक संस्थाहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहकार्य गरेको हो।
यस सहकार्यपछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले आफ्नो व्यावसायिक प्रणालीभित्रै रहेर रकम भुक्तानी, हिसाब मिलान तथा अन्य बैंकिङ कारोबार सहज रूपमा गर्न सक्नेछन्।
त्यसैगरी, साना तथा मझौला व्यवसायीले पनि व्यापारिक केन्द्र तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले बैंकिङ कारोबारमा हुने अनावश्यक झन्झट कम गर्नुका साथै ग्राहकको समय बचत गर्न र वित्तीय कारोबारलाई सरल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend