जन आकाश
काठमाडौं । संसदीय सुनुवाइ समितिले जापान र मलेसियाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ तत्काल अघि नबढाउने भएको छ। त्यस्तै, साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको सिफारिस रोक्ने तयारी गरिएको छ। तीनै जनाविरुद्ध समितिमा उजुरी परेपछि थप छानबिन गर्न लागिएको हो।
जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापा र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलविरुद्ध उजुरी परेका छन्। उनीहरूले समितिमा आफ्नो कार्ययोजनासमेत पेस गरिसकेका छन्। साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारविरुद्ध पनि गम्भीर आरोपसहित उजुरी परेको छ।
समितिले उजुरीमाथि थप प्रमाण संकलन तथा अध्ययन गर्न उपसमिति गठन गर्ने तयारी गरेको छ। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको दाबीसहित उजुरी परेको छ।
उजुरीकर्ताले राजदूत पदका लागि निर्धारित योग्यताअनुसार विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति अयोग्य हुने व्यवस्था रहेको दाबी गरेका छन्। थापाले सन् २०१८ मा जापानको एक पत्रिकालाई आफूले पीआर प्राप्त गरेको र त्यसपछि जापानमा बस्दै आएको बताएको उल्लेख गर्दै उजुरीकर्ताले यस विषयमा छानबिन गर्न माग गरेका छन्।
थापाको जापानको कानागवा प्रिफेक्चरमा घरसमेत रहेको दाबी गर्दै उजुरीकर्ताले उनको आवासीय अनुमतिको मिति, वर्तमान अवस्था र उम्मेदवारी दिँदा उक्त विवरण खुलाइएको थियो वा थिएन भन्ने विषयमा आधिकारिक कागजातका आधारमा जाँच गर्न माग गरेका छन्।
त्यस्तै, जापानमा रहेको भनिएको घरजग्गा, व्यावसायिक संलग्नता, आर्थिक लगानी र बैंकिङ दायित्वबारे पनि परीक्षण गर्नुपर्ने माग गरिएको छ। अर्का उजुरीकर्ताले थापाको नागरिकता र परिवारको नेपालमा बसोबाससम्बन्धी विवरणसमेत जाँच गर्न माग गरेका छन्। मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलविरुद्ध आर्थिक लेनदेन, ठगी तथा संस्थागत रकमको दुरुपयोगलगायतका आरोप लगाउँदै उजुरी परेको छ।
उजुरीमा मेनपावर व्यवसायी विजय मिश्रको एडभान्जर ओभरसिजबाट राजदूत बनेर काम गर्ने भन्दै करिब दुई करोड रुपैयाँ लिएको आरोप लगाइएको छ। मिश्रले उपलब्ध गराएको बा.२० च. ५३९ नम्बरको टोयोटा गाडी प्रयोग गर्ने गरेको दाबीसमेत उजुरीमा उल्लेख छ।
त्यसैगरी, मलेसियास्थित एक कम्पनीको नेपाल प्रमुख एजेन्टका रूपमा काम गरेको, उक्त कम्पनीसँग कामदार पठाउनेसम्बन्धी सम्झौता गरेको तथा योगा महासंघ नेपालको महासचिव रहँदा संस्थाको रकममा अनियमितता गरेको आरोप लगाइएको छ।
पोखरामा सार्वजनिक वनको जग्गा मिलाइदिने भन्दै रकम ठगी गरेको र जनकपुर क्षेत्रमा जग्गासम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपसमेत उजुरीमा उल्लेख छ। यी आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध महिलामाथि हिंसा, धम्की तथा निजी तस्बिर पठाएको आरोपसहित उजुरी परेको छ। उजुरीकर्ताले पूर्वप्रेम सम्बन्धमा रहेकी महिला र उनको परिवारलाई सुनारले धम्की दिएको दाबी गरेकी छन्। उनले उक्त घटनामा सुनारले ललितपुर प्रहरी कार्यालयमा दुई पटक माफी मागेको उल्लेख गर्दै सन्देशका स्क्रिनसट तथा प्रहरी कार्यालयमा माफी मागेको र मिलापत्र भएको भनिएका कागजातका प्रतिलिपिसमेत समितिमा बुझाएको दाबी गरेकी छन्।
यद्यपि, उजुरीमा लगाइएका आरोपको सत्यता आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। सुनारविरुद्ध अर्को उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँगको राजनीतिक सम्बन्ध तथा हाम्रो नेपाल पार्टीसँगको आबद्धताको विषय उठाइएको छ। उजुरीकर्ताले राजदूतमा नियुक्त हुने व्यक्ति कुनै राजनीतिक दलसँग आबद्ध हुन नहुने दाबी गरेका छन्।
उजुरीमा सांसद खगेन्द्र सुनारमाथि विभिन्न व्यक्तिबाट रकम संकलन, दलित आन्दोलनका लागि उठाइएको रकमको दुरुपयोग तथा प्रहरीको डीआईजी बढुवासम्बन्धी आर्थिक लेनदेनमा संलग्न रहेको आरोप पनि लगाइएको छ। ती घटनामा गिरीबहादुर सुनारको भूमिका रहेको दाबीसमेत गरिएको छ। उजुरीकर्ताले पार्टीको केन्द्रीय समितिको सूची तथा अन्य सामग्री पनि बुझाएको उल्लेख छ।
यी आरोपहरू पनि उजुरीकर्ताका दाबीमा आधारित छन् र स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्। तीनै प्रस्तावित राजदूतविरुद्ध उजुरी परेपछि संसदीय सुनुवाइ समितिले थप प्रमाण संकलन र छानबिन गर्ने तयारी गरेको छ। छानबिनपछि मात्र उनीहरूको सुनुवाइ तथा सिफारिससम्बन्धी प्रक्रिया कसरी अघि बढ्ने भन्ने स्पष्ट हुने देखिन्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend