जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकासम्म सबै पदको मतपरिणाम सार्वजनिक भइसक्ने जानकारी कांग्रेस मिडिया सेन्टरलाई दिएका हुन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना भने जारी छ। निर्वाचन समितिले बाँकी मतगणनालाई तीव्रता दिँदै आजै सम्पूर्ण परिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
कांग्रेस सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। कुल ७ हजार १३ मत खसेकामा ५४ मत बदर भएका थिए। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए।
त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।
खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य निर्वाचित भएका छन्। समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् भने महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएकी छन्।
सहमहामन्त्रीका विभिन्न समूहअन्तर्गत खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। महिला सहमहामन्त्रीमा प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तथा पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यका विभिन्न क्लस्टरको मतपरिणामसमेत सार्वजनिक हुने क्रम जारी छ। केही समूहको गणना सम्पन्न भइसकेको छ भने बाँकी समूहको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना गरिरहेको छ। गत असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनमा असोज २३ गते मतदान भएको थियो।
सभापति पदको मतपरिणाम असोज २४ गते बिहानै सार्वजनिक भए पनि अन्य पदको मतगणना अपेक्षाकृत सुस्त हुँदा अन्तिम परिणाम सार्वजनिक हुन ढिलाइ भएको हो।
निर्वाचन समितिले बाँकी मतगणना सम्पन्न गरी आज बेलुकासम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend