जन आकाश
काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ। बुधबार बसेको समितिको बैठकले सुनारको नैतिक आचरण तथा विगतका घटनासम्बन्धी प्रश्न उठेपछि उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।
सुनुवाइपछि समितिका सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका थिए।
सुनारविरुद्ध महिला हिंसा, धम्की तथा पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई दुःख दिएको आरोपसहित दुईवटा उजुरी परेको बताइएको छ। सुनुवाइका क्रममा सांसदहरूले उनीमाथि उठेका आरोप, नैतिक आचरण र राजदूत पदका लागि उनको उपयुक्तताबारे प्रश्न उठाएका थिए।
सांसद वर्षमान पुनले सुनारलाई आफ्नो नाम फिर्ता लिन सुझाव दिएका थिए। त्यस्तै, एमाले सांसद पद्मा अर्याल, प्रेम दंगाल, पुनम अग्रवाल र दीपक बोहरालगायतले उनीमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका थिए।
जवाफमा सुनारले आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरेका थिए। सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको उनले बताएका थिए। जर्मनीमा अनुवादकका रूपमा जाँदा भिसा अवधि नाघेर बसेपछि डिपोर्ट भएको भन्ने आरोपसमेत उनले अस्वीकार गरेका थिए।
आफूले कुनै हिंसा नगरेको दाबी गर्दै सुनारले राजदूतका लागि सिफारिस भएको नाम फिर्ता नलिने अडान राखेका थिए। तर, संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन नगरेपछि साउदी अरबका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न सकेन।
यसअघि संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend