जन आकाश
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
एनपीएलको तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने बताए।
उद्घाटन समारोहमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्यप्रति आशा जगाएको उल्लेख गर्दै उनले खेलप्रेमीको अपार समर्थनले नेपाली खेल क्षेत्रको बढ्दो सम्भावना उजागर गरेको बताए।
उनले दर्शकको यही आकर्षणलाई नेपाली खेलकुदको विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुपर्नेमा जोड दिए। उनका अनुसार एनपीएल नेपाली क्रिकेटको विकासका लागि मात्र नभई देशको पर्यटन प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण अवसर हो।
प्रतियोगितामा सहभागी हुन नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिहरूलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटसँगै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अविस्मरणीय अनुभव लिएर फर्किने अपेक्षा व्यक्त गरे।
मन्त्री पोखरेलले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै एनपीएलले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन र अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान विस्तार गर्न योगदान दिने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend