जन आकाश
काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजे चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एकै ठाउँमा ठोक्किएका हुन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंं बाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन्।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली घटनास्थलमा खटिएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।
दुर्घटनापछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend