जन आकाश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको दाबी गर्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनबाट भागेर देशलाई अहिलेको अवस्थाबाट पार लगाउन नसकिने बताएका हुन्।
उनले आन्दोलन गर्नैपर्ने अवस्था रहेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन निर्देशन दिए। छठपछि वा आवश्यकताअनुसार जुनसुकै समयमा पनि आन्दोलनमा उत्रिनुपर्ने हुन सक्ने उनको भनाइ थियो। ओलीले देश अहिले असहज र गम्भीर परिस्थितिमा रहेको जिकिर गर्दै आन्दोलनबाटै शक्ति आर्जन हुने र त्यसले पार्टीलाई अघि बढाउन सहयोग गर्ने दाबी गरे।
उनले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको कुरा गरेर नेपाली जनतालाई धोका दिइरहेको आरोपसमेत लगाए। सरकार बलजफ्ती अघि बढिरहेको टिप्पणी गर्दै उनले नेपाल प्रहरीले बर्दीबिनै पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
अध्यक्ष ओलीले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिए। निर्वाचनमा एमालेबिनाको देश बनाउने योजनालाई दिवास्वप्नमा परिणत गरिदिने गरी चुनावी अभियानमा लाग्न उनले आग्रह गरे।
देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले पार्टीको शक्ति विस्तार र आगामी निर्वाचनमा सफलता हासिल गर्न आन्दोलन तथा जनपरिचालनलाई महत्त्व दिनुपर्नेमा जोड दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend