जन आकाश
काठमाडौं । सरकारले प्रहरी प्रमुखसहित केही उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएसँगै नेपाल प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं बोलाएको छ। नक्सालस्थित प्रहरी हेडक्वार्टरले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित सातै प्रदेशका डीआईजीलाई उपस्थित हुन निर्देशन दिएको हो।
प्रहरी स्रोतका अनुसार संगठनको चेन अफ कमान्ड र शान्तिसुरक्षा व्यवस्थापनजस्ता संवेदनशील विषयमा असर पर्ने गरी मिडिया ट्रायल हुन थालेपछि त्यसले पार्ने प्रभावबारे ठोस नीति तय गर्न प्रहरी प्रमुखहरूलाई हेडक्वार्टर बोलाइएको हो।
उनीहरूलाई बिहीबार दिउँसो १२ बजेभित्र हेडक्वार्टरमा हाजिर हुन भनिएको छ। बोलाइएकामध्ये एक प्रदेश प्रहरी प्रमुखले आफू काठमाडौं पुग्न लागेको जानकारी दिएका छन्। यद्यपि, आफूलाई कुन विषय र कारणले बोलाइएको हो भन्नेबारे जानकारी नभएको उनले बताएका छन्।
प्रदेश प्रहरी प्रमुखहरू हेडक्वार्टर पुग्नुअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) को अध्यक्षतामा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक जारी रहेको प्रहरी स्रोतले जनाएको छ। बैठकमा प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकारी सहभागी छन्।
प्रहरी स्रोतका अनुसार प्रहरीप्रतिको जनविश्वासमा आँच पुग्ने र प्रहरी तथा नागरिकबीच हुनुपर्ने सहकार्यमा बाधा पर्ने गरी हुने हस्तक्षेप वा चलखेल स्वीकार्य नहुने सन्देशसहित संगठनले आफ्नो सक्रियता बढाएको छ।
यसैबीच, कोशी प्रदेशका डीआईजी शेखर खनाल केही दिनदेखि बिदामा काठमाडौंमै छन् भने मधेश प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी कार्यालयको कामका सिलसिलामा काठमाडौंमा रहेको बताइएको छ।
त्यस्तै, बागमती प्रदेशका डीआईजी दीपक रेग्मी, लुम्बिनीका भूपेन्द्रबहादुर खत्री, कर्णालीका जयराज सापकोटा र सुदूरपश्चिमका सानुराम भट्टराई हवाई मार्ग हुँदै काठमाडौं आइरहेको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend