logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, मोबाइल एपबाटै आवेदन दिन सकिने


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८३

काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकलाई सहज, सुरक्षित र आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि सञ्चालनमा आएको यो कार्ड बैंकको एनबैंक मोबाइल एपमार्फत प्राप्त गर्न र प्रयोग गर्न सकिनेछ।



बैंकका अनुसार ग्राहकले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया र अन्य औपचारिकता पूरा नगरी एनबैंक एपको मुख्य पृष्ठमा रहेको ‘अहिले आवेदन दिनुहोस्’ विकल्पमार्फत कार्डका लागि आवेदन दिन सक्नेछन्।

पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध हुने यो कार्डले ग्राहकलाई मोबाइल एपबाटै कर्जा सुविधा उपयोग गर्न तथा दैनिक कारोबार सहज रूपमा गर्न सहयोग पुर्‍याउने बैंकले जनाएको छ।

बैंकले आफ्नै तथ्याङ्कमा आधारित विश्लेषण प्रणालीमार्फत योग्य ग्राहकको पहिचान गरी कार्डका लागि पूर्वस्वीकृति दिएको छ। योग्य ग्राहकले एनबैंक एपको मुख्य पृष्ठमा स्वतः आवेदन दिने विकल्प देख्न सक्नेछन्।

यस भर्चुअल क्रेडिट कार्डमार्फत फोनपेमा आबद्ध व्यापारिक प्रतिष्ठानका क्यूआर सङ्केत स्क्यान गरी भुक्तानी गर्न सकिनेछ। यसबाट ग्राहकले विभिन्न व्यापारिक प्रतिष्ठानमा सुरक्षित र सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ।

कार्ड सञ्चालनसम्बन्धी सहकार्यका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त सहकार्यले डिजिटल भुक्तानीलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नवप्रवर्तन र ग्राहकमैत्री बैंकिङ समाधानप्रतिको बैंकको प्रतिबद्धता दोहोर्‍याए। उनले भर्चुअल क्रेडिट कार्डको सुरुवातले बैंकको डिजिटल रूपान्तरणलाई तीव्रता दिनुका साथै ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार वित्तीय सेवा उपलब्ध गराउने प्रयासलाई थप सुदृढ बनाउने बताए।

ज्ञवालीले ग्राहकको सहजता बैंकको प्राथमिकता रहेको उल्लेख गर्दै डिजिटल प्रविधिको माध्यमबाट बैंकको शाखामा नपुगी सेवा लिन सक्ने व्यवस्था विस्तार गर्न निरन्तर काम भइरहेको बताए। उनका अनुसार भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको महत्त्वपूर्ण हिस्सा हो।

नबिल बैंकले प्रविधिमैत्री तथा ग्राहकमुखी वित्तीय सेवा विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा आफ्नो भूमिका थप सुदृढ बनाउने जनाएको छ। बैंकले आगामी दिनमा पनि ग्राहकको वित्तीय पहुँच, सुविधा र बैंकिङ अनुभव सुधार गर्ने उद्देश्यले नयाँ डिजिटल सेवा विस्तार गर्दै जाने बताएको छ।

बैंकका अनुसार देशभर २६२ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको नबिल बैंकले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङ सेवाका लागि एनबैंक एप सञ्चालनमा ल्याएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend