जन आकाश
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पार्टी लिकुडले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै प्रहरी, आन्तरिक सुरक्षा निकाय सिन बेट र केन्द्रीय निर्वाचन समितिसँग निष्पक्ष छानबिन गर्न माग गरेको छ।
लिकुड पार्टीले विज्ञप्ति जारी गर्दै अरब नेतृत्वका राजनीतिक दलहरूले मत चोरी, घुसखोरी, धम्की, हिंसा, जालसाजी तथा मतदातालाई प्रभावित पार्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गरेको आरोप लगाएको हो। यद्यपि, पार्टीले लगाएका आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
पार्टीका अनुसार निर्वाचनसम्बन्धी अनियमितताका प्रमाणका रूपमा नगद राखिएका खाम, राअम पार्टीका प्रचार सामग्री, धम्की तथा हिंसाका घटना र दोहोरो मतदानसम्बन्धी विवरण प्रहरी, सिन बेट र केन्द्रीय निर्वाचन समितिलाई बुझाइएको छ। लिकुडले सयौँ प्रमाण पेस गरेको दाबीसमेत गरेको छ।
निर्वाचनमा अरब नेतृत्वका दल राअम तथा जोइन्ट लिस्टले १९ सिट जित्न सक्ने अनुमान गरिएको छ। यसले नेतान्याहुको गठबन्धन र विपक्षी पक्ष दुवैलाई संसद्मा बहुमत जुटाउन कठिन हुने अवस्था सिर्जना गरेको बताइएको छ।
निर्वाचन प्रचारका क्रममा नेतान्याहुको पार्टीले अरब दलहरूसँगको राजनीतिक सहकार्यको विरोध गर्दै आएको थियो। अहिले निर्वाचनको नतिजा र मतदान प्रक्रियालाई लिएर लिकुडले प्रश्न उठाएको हो।
लिकुड पार्टीले निर्वाचनसम्बन्धी उजुरीमाथि तत्काल छानबिन गरी आवश्यक कदम चाल्न निर्वाचन समितिसँग माग गरेको छ। तर केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले भने चुनावमा धाँधली भएको दाबी अस्वीकार गरेका छन्।
विभिन्न रिपोर्टअनुसार निर्वाचनअघि नै लिकुड पार्टीले अरब समुदायको बाहुल्य रहेका क्षेत्रका मतदान केन्द्रको नतिजालाई चुनौती दिने तयारी गरेको थियो। निर्वाचनमा अनियमितता भएको भन्ने आरोपबारे सम्बन्धित निकायको छानबिन तथा आधिकारिक निष्कर्ष आउन बाँकी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend