जन आकाश
काठमाडौं । ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण आगामी कात्तिक १५ गतेसम्म नेपालका विभिन्न नदी जलाधारमा उल्लेखनीय वर्षा भई जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले बाढी तथा अन्य जलजन्य जोखिमसम्बन्धी पूर्वसूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार विशेषगरी नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार, तिनका सहायक नदी तथा आसपासका क्षेत्रमा उल्लेखनीय वर्षा हुन सक्नेछ। यसका कारण नदीहरूमा पानीको सतह बढ्ने सम्भावना रहेको छ।
हालको आकलनअनुसार प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुग्ने जोखिम न्यून देखिए पनि वर्षाको मात्रा र नदीको अवस्थाअनुसार जोखिम परिवर्तन हुन सक्ने महाशाखाले जनाएको छ।
पूर्वानुमानअनुसार बिहीबारदेखि नारायणी, कोशी, बागमती, कमला र कन्काई नदी जलाधारमा जलसतह सामान्य बढ्न थाल्नेछ। शुक्रबार नारायणी, कोशी र तिनका सहायक नदीहरूका साथै बागमती, कमला र कन्काई जलाधारमा मध्यमदेखि भारी वर्षा हुँदा जलसतह उल्लेख्य रूपमा बढ्न सक्नेछ। महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीमा भने जलसतह सामान्य बढ्ने अनुमान गरिएको छ।
लगातारको वर्षाका कारण शनिबार प्रमुख नदीहरूमा जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने महाशाखाको प्रक्षेपण छ। यद्यपि, नदीहरूले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको जनाइएको छ। कात्तिक १५ गते आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुने र जोखिम क्रमशः घट्दै जाने अनुमान छ।
यसैगरी, कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ। विशेषगरी बिहीबार र शुक्रबार नारायणी, बागमती, कमला, कन्काई तथा कोशी जलाधारका पहाडी र चुरे क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने तथा तराईका केही स्थानमा डुबान हुन सक्ने आकलन गरिएको छ।
महाशाखाले कात्तिक १२, १३ र १४ गते पहाडी तथा चुरे क्षेत्रका साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहने जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलानजिक बसोबास गर्ने नागरिकलाई सतर्क रहन, जोखिमयुक्त स्थानमा आवतजावत गर्दा सावधानी अपनाउन र आधिकारिक पूर्वसूचनाको पालना गर्न आग्रह गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend