logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिकको रोजगारी तथा भर्ती प्रक्रियाबारे भ्रामक र तथ्यहीन सूचना नफैलाउन आग्रह गरेको छ।



मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीसम्बन्धी विभिन्न भ्रामक सूचना फैलिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयका अनुसार नेपाली श्रमिकलाई मलेसिया पठाउने विषयमा मलेसियाली सरकारका सम्बन्धित निकायसँग निरन्तर छलफल भइरहेको छ। श्रमिक पठाउने प्रक्रियालाई प्रचलित कानुन, द्विपक्षीय श्रम सम्झौता तथा अन्तर्राष्ट्रिय कानुनअनुसार व्यवस्थित बनाउन सरकारले पहल गरिरहेको जनाएको छ।

नेपाली श्रमिकको अधिकार संरक्षण र दीर्घकालीन हित सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ। साथै, नेपाल र मलेसियाबीचको श्रम आप्रवासन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र दुवै देशको हितअनुकूल बनाउन काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले नेपाली श्रमिकको छनोट तथा भर्ती प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन सरकार सकारात्मक रहेको जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता मिरा आचार्यद्वारा जारी विज्ञप्तिमा मलेसिया रोजगारीसम्बन्धी जानकारीका लागि आधिकारिक स्रोतमा भर पर्न र अपुष्ट सूचना सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend