जन आकाश
काठमाडौं । विवादमा तानिएपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल चार दिनका लागि बिदामा बसेका छन्।
मंगलबारदेखि लागू हुने गरी उनले कात्तिक १७ गतेदेखि २० गतेसम्मको बिदा लिएका हुन्। प्रधानन्यायाधीश मनोजकुमार शर्माबाट बिदा स्वीकृत गराएको सर्वोच्च अदालतका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिएका छन्।
कात्तिक २० गतेपछि तिहार बिदा सुरु हुने भएकाले न्यायाधीश फुयालको बिदा कम्तीमा कात्तिक २७ गतेसम्म लम्बिने देखिएको छ।
न्यायाधीश फुयाल र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका इनम सापकोटाबीच भएको भनिएको कुराकानीको स्क्रिनसट सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन्।
यसै विषयमा सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले न्यायाधीश फुयालको नाम बिचौलिया इनम सापकोटासँग जोडिएको प्रकरणमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको थियो। उक्त बैठक करिब चार घण्टा चलेको थियो।
सार्वजनिक भएको कुराकानीको स्क्रिनसट र न्यायाधीशको नाम जोडिएको विषयले न्यायालयभित्रै पनि चासो र बहस सिर्जना गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend