जन आकाश
काठमाडौं । डोल्पाको जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले दामाचौरबाट आठबिसकोट नगरपालिका–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गर्ने क्रममा दुई जनाले भाग्ने प्रयास गरेका थिए। तर, प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा कारागारबाट फरार भएका कैदी रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राठौरले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। उनीहरू दुवै जना जबर्जस्ती करणीसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई हाल गोतामकोट प्रहरी चौकीमा राखिएको छ। डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ कैदीमध्ये दुई जना पक्राउ परेसँगै बाँकी छ जना अझै फरार रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend