logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

वालिङको समृद्धि रोज्दै तोय नारायण पौडेल


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८३

Screenshot

 



स्याङ्जा । लामो समयपदेखि प्राध्यापन,कृषि उद्यमशीलता र विकास निर्माण अभियानमा  अभियन्ताको छवि नबनाएका वालिङ नगरपालिका ११ निवासी तोयनारायण पौडेलको चर्चा चुलिंदै गएको छ । गाउँ रित्तिँदै जाने, युवा रोजगारीका लागि विदेश तथा ठूला सहर पलायन हुने र खेतीयोग्य जमिन बाँझो रहने समस्या समाधान गर्दै वालिङलाई आत्मनिर्भर र समृद्ध नगर बनाउने योजनासहित तोयनारायण पौडेल स्थानीय विकासको बहसमा जोडिएका हुन् ।

पौडेलले २०४६ सालमा वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। पृथ्वीनारायण क्याम्पस पोखराबाट आईएस्सी र बीएस्सी पूरा गरेका उनले सन् १९९८ मा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरबाट गणित विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका हुन्।

शिक्षण क्षेत्रमा करिब २६ वर्षको अनुभव हासिल गरेका पौडेलले नेपाल इन्जिनियरिङ कलेजमा १७ वर्ष र हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजमा ९ वर्ष प्राध्यापन गरेका छन्। इन्जिनियरिङका विद्यार्थीका लागि गणित विषयका आठवटा पुस्तक प्रकाशन गरेका उनी विभिन्न शैक्षिक तथा संस्थागत संघसंस्थामा नेतृत्वदायी भूमिकामा समेत सक्रिय रहँदै आएका छन्।

पौडेलको विकाससम्बन्धी सोच केवल भाषणमा सीमित छैन। काठमाडौंमा रहेर पनि उनले वालिङ–११ मा आफ्ना दाजुभाइसँग मिलेर कृषि क्षेत्रमा लगानी गरिरहेका छन्। उनीहरूको संयुक्त पहलमा ३०० बोट सुन्तला, २५० बोट कागती, १५० बोट एभोकाडो तथा अदुवा र अकबरे खुर्सानी खेती गरिएको छ। उक्त कृषि उद्यमबाट आम्दानीसमेत सुरु भइसकेको र वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी भइरहेको पौडेल बताउँछन्।

उनको मुख्य सन्देश छ, **“जमिन र माटो खाली नराखौँ, जमिनले हामीलाई जिउन सिकाउँछ।”** परम्परागत कृषिलाई आधार बनाएर आधुनिक प्रविधि, व्यावसायिक उत्पादन र बजार व्यवस्थापनमा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने उनको धारणा छ।

निजी क्षेत्रको विकासबिना देशको आर्थिक समृद्धि सम्भव नहुने बताउने पौडेल प्रत्येक वडामा कम्तीमा एउटा उद्योग स्थापना गर्ने वातावरण बनाउनुपर्ने, बाँझो जमिनलाई एकीकृत गरी उत्पादनमूलक बनाउने र कृषि उपजको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिन्छन्।

“सबैले देश र समाज छाड्दै जाने हो भने हाम्रो देश कसरी बन्छ? अब हामीले नै आफ्नो समाज, नगर र देश बनाउने हो। हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने?” भन्ने उनको प्रश्न छ।

वालिङलाई उत्कृष्ट नगरका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्दै पौडेलले पार्टी र नागरिकले जिम्मेवारी दिने अवसर पाए शिक्षा, कृषि, उद्योग, रोजगारी र निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो सोच रहेको बताएका छन्। गाउँघरमा लगानी बढाएर स्थानीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनको निरन्तरको चिन्तनले वालिङको भावी विकासबारे नयाँ बहसलाई स्थान दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend