जन आकाश
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले मानव, पशुपन्छी तथा वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै ‘विश्व एक स्वास्थ्य दिवस २०२६’ को अवसरमा ‘एक स्वास्थ्य संवाद : समुदायदेखि नीतिसम्म’ कार्यक्रम सम्पन्न गरेको छ।
समुदायमा एक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे जानकारी गराउने तथा स्थानीय तहमा एक स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

‘समृद्ध समुदाय निर्माणको आधार : एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार’ भन्ने नारासहित आयोजित कार्यक्रममा निकालिएको जनचेतनामूलक र्यालीले वालिङ बजार परिक्रमा गरेको थियो। कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डे, गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका डा. राजेश चौधरी, नेपाल वन हेल्थ इन्स्टिच्युटका सचिव संकल्प भट्टराई, कृषि विकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख नारायण पाठक तथा कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेशका प्रमुख सुदीप रेग्मीलगायतको सहभागिता थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले एक स्वास्थ्यको अवधारणा, यसको आवश्यकता र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका उपायबारे धारणा राख्दै साझा प्रतिबद्धता व्यक्त गरेका थिए।
सडक नाटकमार्फत उठाइए समुदायका स्वास्थ्यसम्बन्धी सवाल
कार्यक्रमको सुरुवातमा विद्यार्थी, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, प्राध्यापक, शिक्षक, कृषक, सहकारी तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागितामा जनचेतनामूलक र्याली निकालिएको थियो। विभिन्न सन्देशमूलक प्लेकार्ड र नारासहित वालिङ बजार परिक्रमा गरेको र्याली नगरपालिका कार्यालय परिसरमा पुगेर सडक नाटकमा परिणत भएको थियो।
वालिङ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रस्तुत गरेको सडक नाटकमा समुदायमा देखिने एक स्वास्थ्यसम्बन्धी विभिन्न जोखिम र चुनौतीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।
नाटकमा मानिस तथा पशुपन्छीमा एन्टिबायोटिकको अनुचित प्रयोग, त्यसबाट बढ्दै गएको एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर), रेबिजलगायत पशुबाट मानिसमा सर्ने रोग, तरकारी उत्पादनमा विषादीको जथाभावी प्रयोग तथा दूध र मासुजस्ता पशुजन्य खाद्य पदार्थको स्वच्छता र सुरक्षाका विषयलाई उठाइएको थियो।
विशेषगरी पशु उपचारमा एन्टिबायोटिक प्रयोग गरेपछि निर्धारित प्रतीक्षा अवधि पूरा नगरी दूध उपभोग वा बिक्री गर्दा उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम र खेतदेखि उपभोक्ताको थालीसम्म खाद्य स्वच्छता कायम गर्नुपर्ने आवश्यकतालाई नाटकले प्रस्ट पारेको थियो।
मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएको हुँदा यस्ता समस्याको समाधान कुनै एक व्यक्ति वा निकायको प्रयासबाट मात्र सम्भव नहुने र सबै क्षेत्रको संयुक्त सहकार्य आवश्यक पर्ने सन्देश नाटकले दिएको थियो।
सडक नाटकका सवालमा बहुक्षेत्रीय संवाद
सडक नाटकपछि आयोजित ‘एक स्वास्थ्य संवाद : समुदायदेखि नीतिसम्म’ कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, मानव तथा पशु स्वास्थ्य विज्ञ, कृषि क्षेत्रका प्राविधिक, नेपाल एक स्वास्थ्य संस्थाका प्रतिनिधि, किसान, सहकारी तथा विभिन्न सरकारी निकायका प्रतिनिधिबीच छलफल गरिएको थियो।
संवादमा रेबिज तथा अन्य जुनोटिक रोगको रोकथाम, मानिस र पशुमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन, विषादी व्यवस्थापन, खाद्य स्वच्छता तथा वातावरण संरक्षणका विषयमा सम्बन्धित क्षेत्रको भूमिका र सहकार्यको आवश्यकताबारे छलफल भएको थियो।
छलफलका क्रममा समुदायमा देखिएका स्वास्थ्य जोखिमलाई छुट्टाछुट्टै क्षेत्रका समस्याका रूपमा मात्र नहेरी मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, वातावरण र खाद्य प्रणालीसँग जोडेर समाधान गर्नुपर्नेमा जोड दिइएको थियो।
नीतिदेखि कार्यान्वयनसम्म जोडिँदै वालिङको पहल
वालिङ नगरपालिकाले यसअघि नै एक स्वास्थ्यसम्बन्धी नीति तथा कार्यविधि स्वीकृत गरी यस अवधारणालाई आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै आएको छ।
सोही पृष्ठभूमिमा आयोजित विश्व एक स्वास्थ्य दिवसले समुदायमा देखिएका समस्या, सरोकारवालाका सुझाव र स्थानीय सरकारको नीतिगत प्राथमिकतालाई एकै ठाउँमा जोड्ने अवसर प्रदान गरेको छ।
कार्यक्रमले एक स्वास्थ्यलाई मानव स्वास्थ्य क्षेत्रको विषयमा मात्र सीमित नराखी कृषि, पशुपालन, खाद्य सुरक्षा, वातावरण संरक्षण, शिक्षा तथा स्थानीय सुशासनसँग जोडिएको साझा विकासको अवधारणाका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको छ।
सातबुँदे ‘वालिङ एक स्वास्थ्य घोषणापत्र २०८३’ जारी
कार्यक्रममा उठेका सवाल तथा छलफलबाट प्राप्त सुझावलाई समेट्दै ‘वालिङ एक स्वास्थ्य घोषणापत्र, २०८३’ जारी गरिएको छ।
घोषणापत्रमार्फत एक स्वास्थ्य नीति तथा कार्यविधिको प्रभावकारी कार्यान्वयन, मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरण क्षेत्रबीच समन्वय, रेबिजलगायत जुनोटिक रोगको रोकथाम, एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन तथा खाद्य स्वच्छता प्रवर्द्धनमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी किसान, सहकारी, विद्यालय, स्वास्थ्य स्वयंसेविका, युवा तथा समुदायको सहभागिता बढाउने र साझा प्राथमिकताका आधारमा संयुक्त कार्ययोजना निर्माण, जिम्मेवारी निर्धारण तथा नियमित समीक्षा गर्ने विषयलाई समेत घोषणापत्रमा समेटिएको छ।
‘समृद्ध समुदाय निर्माणको आधार : एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार’ भन्ने नारासहित जारी घोषणापत्रले एक स्वास्थ्यसम्बन्धी जनचेतनालाई व्यवहार परिवर्तन र संस्थागत सहकार्यसँग जोड्ने अपेक्षा गरिएको छ।
अन्य स्थानीय तहका लागि पनि सिकाइको अवसर
विश्वव्यापी रूपमा मानव, पशु तथा वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा सम्बोधन गर्ने एक स्वास्थ्य अवधारणाले महत्त्व पाइरहेको सन्दर्भमा वालिङ नगरपालिकाको यो पहललाई स्थानीय तहको नेतृत्वमा नीतिगत अवधारणालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा हेरिएको छ।
एक स्वास्थ्य नीति तथा कार्यविधि निर्माण, समुदायस्तरीय जनचेतना, बहुक्षेत्रीय संवाद र साझा घोषणापत्रलाई एउटै प्रक्रियामा जोडिएको यस कार्यक्रमले अन्य स्थानीय तहलाई समेत एक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन र नीति कार्यान्वयनका लागि सिकाइ प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।
आगामी दिनमा घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, जिम्मेवारी बाँडफाँट, स्रोत परिचालन र नियमित अनुगमनसँग जोड्न सके वालिङको अनुभव अन्य स्थानीय तहमा समेत विस्तार गर्न सकिने सम्भावना देखिन्छ।
समुदायबाट उठेका स्वास्थ्यसम्बन्धी सवाललाई स्थानीय सरकारको नेतृत्वमा नीति, सहकार्य र व्यवहारिक कार्यान्वयनसम्म पुर्याउने वालिङ नगरपालिकाको यो पहलले एक स्वास्थ्य अवधारणालाई स्थानीय स्तरमा संस्थागत गर्ने आधार तयार गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend