logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट चर्चामा आएका मनोज केसी बने नेपाल प्रहरीको नयाँ आईजीपी


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८३

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो। कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।



नवनियुक्त आईजीपी केसी अपराध अनुसन्धानमा लामो अनुभव हासिल गरेका प्रहरी अधिकारी हुन्। विशेषगरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको ठगी प्रकरणको अनुसन्धानमा खेलेको भूमिकाका कारण उनी चर्चामा आएका थिए।

उक्त प्रकरणमा राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाउन केसीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने प्रहरी टोलीको नेतृत्वसमेत उनले गरेका थिए।

केसी २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनी निवर्तमान आईजीपी दानबहादुर कार्कीकै ब्याचका प्रहरी अधिकारी हुन्।

२०८२ वैशाखमा एआईजीमा बढुवा भएका केसी यसअघि पनि आईजीपीका प्रतिस्पर्धी थिए। तर तत्कालीन सरकारले उनलाई पछि पार्दै कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा निर्णायक भूमिका

केसीको प्रहरी सेवाको सबैभन्दा चर्चित अनुसन्धान नक्कली भुटानी शरणार्थी प्रकरण हो। उनी २०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख बनेका थिए। त्यसबेला नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीमा परेका पीडितहरू न्यायको खोजीमा थिए।

कार्यालयको नेतृत्व सम्हालेपछि केसीले पीडितहरूको गुनासो सुन्दै प्रकरणको अनुसन्धान अघि बढाउन चासो देखाएका थिए। उनले छुट्टै अनुसन्धान टोली बनाएर गिरोहका मुख्य सदस्यहरूमाथि निगरानी बढाए।

सोही क्रममा २०७९ चैत १२ गते बिहान केसीकै नेतृत्वमा खटिएको प्रहरी टोलीले गिरोहका प्रमुख सदस्यहरू केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गर्‍यो।

त्यसबेला नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदै थियो। निवर्तमान आईजीपी धीरजप्रताप सिंह अवकाशमा गइसकेका थिए भने नवनियुक्त आईजीपी वसन्त कुँवरले कार्यभार सम्हाल्न बाँकी थियो। केसीले नयाँ महानिरीक्षकले कार्यभार सम्हाल्नुअघि नै तीनै जनालाई पक्राउ गरेका थिए।

प्रारम्भिक सोधपुछपछि उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो। केसीले आफ्नो कार्यालयको प्रारम्भिक रायमै यस प्रकरणको अनुसन्धान गृह प्रशासनसम्म पुर्‍याउनुपर्ने सुझाव दिएका थिए।

त्यसपछि अनुसन्धान तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्री बालकृष्ण खाणसम्म पुगेको थियो। अनुसन्धान अघि बढाउने क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका तत्कालीन प्रमुख एआईजी श्यामलाल ज्ञवालीले समेत सक्रिय भूमिका खेलेका थिए।

ज्ञवाली र केसीसहितको टोलीले तत्कालीन गृहसचिव पाण्डेसँग विस्तृत सोधपुछ गरेको थियो। बयान तथा मोबाइल सन्देशबाट प्राप्त विवरणका आधारमा अनुसन्धान तत्कालीन गृहमन्त्री खाणसम्म पुगेको थियो।

२०८० वैशाख २६ गते राति खाणलाई पक्राउ गर्ने विषयमा प्रहरी अधिकारीहरूबीच छलफल भएको थियो। त्यसको भोलिपल्ट बिहान केसीकै नेतृत्वमा खटिएको प्रहरी टोलीले खाणलाई निवासबाट पक्राउ गरेको थियो। उक्त कारबाहीमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीसमेत सहभागी थियो।

पूर्वगृहमन्त्री र पूर्वगृहसचिवसम्म अनुसन्धान पुर्‍याउन खेलेको भूमिकाले केसीलाई अपराध अनुसन्धानमा परिचित प्रहरी अधिकारीका रूपमा स्थापित गर्‍यो।

सीआईबीदेखि विशेष ब्युरोसम्मको जिम्मेवारी

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि केसीले नेपाल प्रहरीको विशेष ब्युरोको नेतृत्वसमेत सम्हाले। तर त्यहाँ उनको कार्यकाल लामो हुन सकेन। २०८१ साउनमा ब्युरोको नेतृत्व सम्हालेको करिब दुई महिनामै उनको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको थियो।

त्यसअघि विशेष ब्युरोले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी प्रतीक थापालाई पक्राउ गरेको थियो। सोही प्रकरणका अर्का आरोपी बेचन झालाई पक्राउ गर्न उनको टोलीले सहयोग गरेको आशंकामा तत्कालीन गृहमन्त्री रमेश लेखकले केसीको सरुवा गरेको दाबी त्यतिबेला सार्वजनिक भएको थियो। यद्यपि सरुवाको कारणबारे सरकारले औपचारिक पुष्टि गरेको थिएन।

त्यसपछि उनी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत रहे।

२०८२ असोज ५ गते सरकारले केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको थियो। त्यसबेला गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका थिए।

सीआईबी प्रमुख रहँदा केसीको नेतृत्वमा विभिन्न आर्थिक तथा संगठित अपराधसम्बन्धी अनुसन्धान अघि बढेका थिए। बैंकिङ कसुर, दूरसञ्चार कम्पनीको सम्पत्ति कारोबार, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी र सरकारी जग्गा हिनामिनासम्बन्धी विषय अनुसन्धानको दायरामा आएका थिए।

पर्यटकको नक्कली उद्धार कागजात बनाएर बिमा रकम ठगी गरेको आरोपमा २०८२ माघमा विभिन्न उद्धार तथा चार्टर कम्पनीसँग सम्बन्धित छ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उक्त अनुसन्धानबारे सीआईबी प्रमुखका रूपमा केसीले जानकारी दिएका थिए।

त्यसपछि २०८३ असार २२ गतेदेखि उनले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका थिए। आईजीपी नियुक्त हुनुअघि उनी यही विभागका प्रमुख थिए।

आफ्नो प्रहरी सेवाकालमा केसीले मोरङ र रूपन्देही जिल्ला प्रहरी कार्यालयको नेतृत्वसमेत गरिसकेका छन्।

प्रहरी सेवासँगै विद्यावारिधिसमेत

केसीको अर्को परिचय प्राज्ञिक पृष्ठभूमि पनि हो। उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। उनको अनुसन्धान नेपालमा बदलिँदो परिस्थितिमा प्रहरी सेवा र नागरिक सुरक्षासम्बन्धी विषयमा केन्द्रित थियो।

उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट व्यावहारिक द्वन्द्व रूपान्तरण अध्ययनमा पनि स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

केसी नेपाल प्रहरी कर्मचारी कलेजका संस्थापक निर्देशकसमेत हुन्। उक्त संस्थामा प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम विकासमा उनले भूमिका खेलेका थिए।

उनले प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षकका रूपमा काम गर्नुका साथै विभिन्न विश्वविद्यालयमा अतिथि अध्यापकका रूपमा समेत अध्यापन गरेका छन्। प्रहरी अनुसन्धान, द्वन्द्व रूपान्तरण र संगठित अपराध नियन्त्रणसम्बन्धी उनका अनुसन्धानमूलक कृतिसमेत प्रकाशित छन्।

अन्तर्राष्ट्रिय अनुभवका रूपमा उनी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा खटिएका थिए। नेपाल प्रहरीको आधिकारिक परिचयअनुसार उनी नेपाली, अंग्रेजी, फ्रान्सेली र स्पेनी भाषा जान्दछन्।

करिब २८ वर्ष प्रहरी सेवामा बिताएका केसी अब नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तथा प्रशासनिक तहसम्म अनुसन्धान पुर्‍याउन भूमिका खेलेका उनले अब सिंगो प्रहरी संगठनको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend