logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नवीकरणीय ऊर्जालाई निजी लगानी र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छ : मन्त्री श्रेष्ठ


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन्।



बुधबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नभई उत्पादन, रोजगारी, उद्यमशीलता र आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले पछिल्लो तीन दशकमा हासिल भएका उपलब्धिलाई मात्रै पर्याप्त मान्न नहुने भन्दै नवीकरणीय ऊर्जाको क्षेत्रलाई थप विस्तार र व्यावसायिक बनाउनुपर्ने धारणा राखे।

जलवायु परिवर्तनको उच्च जोखिमलाई ध्यानमा राख्दै केन्द्रीय ऊर्जा प्रणालीसँगै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको विकास अपरिहार्य रहेको पनि उनले बताए।

मन्त्री श्रेष्ठले सरकारले एलपी ग्यासमुक्त पालिकाको अवधारणालाई समेत अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिए। उनका अनुसार यो अभियान ऊर्जा कार्यक्रम मात्रै नभई स्थानीय तहको आर्थिक विकास र ऊर्जामा आत्मनिर्भरता हासिल गर्ने महत्वपूर्ण अभ्यास हो।

प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, माग, खपत तथा भविष्यको आवश्यकताको अध्ययन गरेर योजना बनाउनुपर्नेमा जोड दिँदै उनले ग्यासमुक्त पालिकाको अवधारणा कार्यान्वयनमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिका महत्वपूर्ण हुने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend