logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

एमालेबारे फैलाइएका भ्रम र अफवाहको तथ्य–प्रमाणका आधारमा खण्डन गर्नुपर्छ : विद्या भण्डारी


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन्।



प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेको पार्टी भएको बताइन्।

उनले एमालेले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान गर्दै आएको जिकिर गरिन्।

पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीविरुद्ध फैलाइएका भ्रम र अफवाहको तथ्य र प्रमाणसहित खण्डन गर्नुपर्ने बताइन्।

त्यस्तै, महिला तथा युवालाई नेतृत्वमा अघि बढ्ने अवसर र अनुकूल वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

भण्डारीले प्रवासमा रहेका श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा तथा विभिन्न पेसामा आबद्ध नेपालीका समस्या र सरोकार फरक–फरक हुने भन्दै सबैलाई समेटेर संगठनका गतिविधि अघि बढाउनुपर्ने बताइन्।

उनले स्वदेशी निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिइन्। साथै, सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend