logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रेस काउन्सिल अध्यादेश- सञ्चारमाध्यमको सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८३

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार विस्तार गर्दै सञ्चारमाध्यमले सञ्चालन गर्ने सामाजिक सञ्जालका अकाउन्टसमेत निगरानी र कारबाही गर्न सक्ने व्यवस्था अध्यादेशमार्फत अघि सारेको छ।



मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश ल्याउने निर्णय गरेको हो। अध्यादेशमा सञ्चारमाध्यमले सञ्चालन गर्ने फेसबुक, युट्युब, एक्स, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत प्रकाशित तथा प्रसारित सामग्रीलाई पनि प्रेस काउन्सिलको नियमनभित्र समेटिएको छ।

कानुन मन्त्रालय स्रोतका अनुसार कतिपय युट्युब च्यानल तथा फेसबुक पेज अनलाइन सञ्चारमाध्यमका रूपमा सूचना विभागमा दर्ता हुने गरे पनि आफ्नो वेबसाइटमा सामग्री नराखी सामाजिक सञ्जालमार्फत मात्रै समाचार तथा भिडियो प्रकाशन गर्ने गरेका छन्। त्यसैले त्यस्ता सञ्चारमाध्यमलाई पत्रकारितासम्बन्धी आचारसंहिताको दायरामा ल्याउन काउन्सिलको अधिकार विस्तार गरिएको हो।

अध्यादेशअनुसार अनलाइन, सामाजिक सञ्जाल, मोबाइल वा अन्य एप्लिकेसन तथा भविष्यमा विकास हुने डिजिटल र विद्युतीय माध्यमबाट पत्रकारिताको काम गर्ने व्यक्ति तथा सञ्चारमाध्यममा समेत आचारसंहिता लागू हुनेछ।

त्यस्तै, सञ्चारमाध्यमको सम्पादकीय नियन्त्रणमा रहेका सामाजिक सञ्जालबाट प्रकाशित वा प्रसारित समाचार, शीर्षक, तस्बिर, भिडियो, थम्बनेल, क्याप्सन तथा प्रत्यक्ष प्रसारणको सम्पादकीय जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमकै हुने व्यवस्था गरिएको छ।

अध्यादेशले सञ्चारकर्मी, सामग्री निर्माता तथा इन्फ्लुएन्सरले पत्रकारितासम्बन्धी कार्य गरेमा उनीहरूलाई समेत आचारसंहिताको दायरामा ल्याएको छ। यसअघि सञ्चारकर्मीका रूपमा परिचय दिने व्यक्तिहरूले आफू पत्रकार नभएको भन्दै प्रेस काउन्सिलको नियमन क्षेत्रबाट बाहिर रहेको तर्क गर्दै आएका थिए।

यसै सन्दर्भमा भोटेकोशी बाढीपछि सुरुङबाट उद्धार गरिएका व्यक्तिसँग अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा सञ्चारकर्मी सुरजसिंह ठकुरीसँग काउन्सिलले स्पष्टीकरण मागेको थियो। ठकुरीले आफू पत्रकार नभई सञ्चारकर्मी भएको जवाफ दिएका थिए। त्यस्तै, न्यूज २४ मा कार्यक्रम सञ्चालन गर्दा रवि लामिछानेले पनि आफू पत्रकार नभई सञ्चारकर्मी भएको बताएको प्रसंगसमेत अध्यादेशको पृष्ठभूमिमा उल्लेख गरिएको छ।

अब सञ्चारमाध्यमले उत्पादन, प्रकाशन, प्रसारण वा सम्प्रेषण गरेका समाचार तथा पत्रकारितासम्बन्धी सामग्रीविरुद्ध उजुरी परेमा काउन्सिलले जाँचबुझ गरी कारबाही गर्न सक्नेछ। उजुरी नपरेको अवस्थामा पनि आचारसंहिता उल्लंघन भएको जानकारी पाएमा आफैँले छानबिन अघि बढाउन सक्ने अधिकार दिइएको छ।

त्यस्तै, विदेशी सञ्चारमाध्यम वा समाचार एजेन्सीका लागि नेपालभित्र पत्रकारिताको काम गर्ने नेपाली तथा विदेशी पत्रकार र नेपालमा स्वतन्त्र रूपमा पत्रकारिता गर्ने विदेशी पत्रकारका हकमा पनि आचारसंहिता लागू हुने व्यवस्था गरिएको छ।

समाचार एजेन्सी तथा समाचार समितिलाई समेत पहिलोपटक सम्पादकीय जिम्मेवारीको दायरामा ल्याइएको छ। उनीहरूले उत्पादन वा सम्प्रेषण गरेका सामग्रीमा तथ्यगत त्रुटि वा भ्रामक प्रस्तुति रहेको पुष्टि भएमा सामग्री सच्याएर त्यसको जानकारी सम्बन्धित सञ्चारमाध्यमलाई तत्काल दिनुपर्ने व्यवस्था अध्यादेशमा छ।

यद्यपि, कुनै व्यक्तिले आफ्नो सामाजिक सञ्जाल खातामार्फत व्यक्त गरेको व्यक्तिगत विचार, धारणा, अनुभव वा प्रतिक्रियामा भने आचारसंहिता लागू नहुने उल्लेख छ। त्यस्तै, समसामयिक विषयमा गरिने व्यक्तिगत टिप्पणी, विश्लेषण, आलोचना तथा हास्यव्यङ्ग्य, कला, साहित्य र मनोरञ्जनात्मक सामग्रीलाई पनि आचारसंहिताको दायराबाहिर राखिएको छ।

अध्यादेशले सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेमा प्रेस काउन्सिलले निश्चित समय तोकेर सम्बन्धित सञ्चारमाध्यमलाई क्षमायाचना, टिप्पणी वा भूल सुधार प्रकाशन गर्न लगाउन सक्ने व्यवस्था पनि गरेको छ। यस्तो सामग्री प्रकाशन गर्ने समयसीमा, स्थान र स्वरूपसमेत काउन्सिलले निर्धारण गर्न सक्नेछ।सरकारले ल्याएको उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि लागू हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend