जन आकाश
काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन्।
थापा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनी राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यरत थिए। उनीसँग बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणमा झन्डै तीन दशकको अनुभव छ।
सन् १९९७ मा राष्ट्र बैंकमा सेवा सुरु गरेका थापाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र वित्तीय संस्था सुपरिवेक्षण विभागमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
उनी यसअघि राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समिति सदस्यसमेत थिए। त्यहाँ उनले लगानी समितिको संयोजकको जिम्मेवारी पनि सम्हालेका थिए। त्यसैगरी, निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरेका छन्।
गोरखाका थापाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए), अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमफिल र कानुनमा स्नातक गरेका छन्।
उनले भारतको सिंघानिया विश्वविद्यालयबाट नेपाली बैंकहरूमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभाव विषयमा विद्यावारिधि गरेका छन्। यद्यपि, उनको उक्त उपाधिको समकक्षता निर्धारण प्रक्रिया त्रिभुवन विश्वविद्यालयमा विचाराधीन रहेको बायोडाटामा उल्लेख छ। थापा बैंकिङ तथा व्यवस्थापनसम्बन्धी पुस्तकका सहलेखकसमेत हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend