जन आकाश
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलाप प्रक्रियालाई थप विश्वसनीय बनाउन न्यायाधीशलाई समेत मेलमिलापकर्ताका रूपमा सहभागी गराउने प्रस्ताव गरिएको बताएकी छन्।
बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको रोहबरमा हुने मेलमिलापले विवादित पक्षमा थप विश्वास पैदा गर्ने बताइन्।
उनका अनुसार स्थानीय तहमा हुने विवादमा न्यायाधीशको सहभागिताले मेलमिलाप प्रक्रियाको सामाजिक तथा संस्थागत विश्वसनीयता बढाउन सक्छ।
यद्यपि, न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा सरोकारवालाको असहमति भए विकल्पबारे छलफल गर्न सरकार तयार रहेको उनले स्पष्ट पारिन्।
समितिमा सांसद, सरोकारवाला र नेपाल बार एसोसिएसनले भने उक्त प्रस्तावप्रति असहमति जनाएका छन्। मन्त्री गौतमले मेलमिलापको उद्देश्य दुवै पक्षको सहमतिमा न्यायोचित रूपमा विवाद समाधान गर्नु रहेको बताएकी छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend