जन आकाश
काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ जनाले उजुरी दिएका छन्।
न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध संयुक्त तथा छुट्टाछुट्टै रूपमा उजुरी परेको हो।
न्याय परिषद्को गत असोज २० गतेको बैठकले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। समितिले कात्तिक ९ गते उजुरी आह्वान गरेकोमा बिहीबारसम्म उजुरी दिने समय तोकेको थियो।
प्रस्तावित न्यायाधीशमध्ये रत्नबहादुर बागचन्दविरुद्ध ५, चन्द्रबहादुर सारूविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध ७ वटा उजुरी परेको छ।
समितिले रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको सुनुवाइ शुक्रबार तथा जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ शनिबार गर्ने तयारी गरेको छ।
यसअघि न्यायाधीश नियुक्तिमा वरिष्ठता र समावेशितालाई बेवास्ता गरिएको भन्दै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले असहमतिको टिप्पणी (नोट अफ डिसेन्ट) लेखेकी थिइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend