logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेप्सेका प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८३

काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। २०८३ कात्तिक १७ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा सुवेदीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।



नवनियुक्त सीईओ सुवेदीलाई २०८३ कात्तिक १८ गते बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

सुवेदीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव छ। उनी यसअघि कृषि विकास बैंकको नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। उनले उक्त बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

कृषि विकास बैंकमा रहँदा उनले प्रमुख कर्जा अधिकृत, प्रमुख सञ्चालन अधिकृत, मानव संशाधन तथा सेवा विभाग प्रमुख र कम्पनी सचिवको जिम्मेवारी निर्वाह गरेका थिए। बैंकको कम्पनी सचिवालयमा कार्यरत रहँदा उनले नेपाल धितोपत्र बोर्ड, नेप्से र नेपाल राष्ट्र बैंकलगायत नियामक निकायसँग समन्वय गर्ने कामसमेत गरेका थिए।

सुवेदीले नेको इन्स्योरेन्स, साना किसान विकास लघुवित्त र डिप्रोक्स लघुवित्तको सञ्चालक समिति सदस्यका रूपमा पनि काम गरेका छन्। उनी फन्ड म्यानेजमेन्ट कम्पनीको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका छन्।

पर्वतको कुश्माका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीए) गरेका छन्। कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल राष्ट्र बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend