जन आकाश
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नपाएका स्थानीयवासीले अन्ततः आफ्नै नाममा लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन्।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो।
नगरपालिकाका अनुसार वडा नं. १ का ७३, वडा नं. ७ का ४९ र वडा नं. ९ का १३९ गरी कुल २६१ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्। लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि उत्साहित भएका छन्।
लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा भए पनि आफ्नो जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताइन्। वर्षौँदेखि बसोबास र भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउने सपना पूरा भएको उनको भनाइ छ।
त्यस्तै, वडा नं. ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको लालपुर्जा अहिले आएर प्राप्त भएको बताए। पुर्जा नहुँदा जग्गाको स्वामित्वबारे अन्योल र समस्या झेल्नुपरेको उल्लेख गर्दै उनले लालपुर्जा प्राप्त भएपछि परिवारमा खुसी छाएको प्रतिक्रिया दिए।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए। लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको कानुनी स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सहजता आउने उनको भनाइ छ।
नगरपालिकाभित्र रहेका बाँकी गाउँब्लक जग्गाधनीलाई पनि क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइने उनले बताए। बाँकी जग्गाको दर्ता प्रक्रिया छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग समन्वय गरिने नगर प्रमुख शाहले जानकारी दिए।
यसैगरी, कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि समेत प्रक्रिया अघि बढाइने उनले बताए। त्यसका लागि अध्यादेश आइसकेको र आयोग गठन भएपछि वितरण प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिए। २०७० सालमा नापी गरिएको जग्गाको प्रमाणपुर्जा वितरण गर्न सफल भएको उल्लेख गर्दै उनले पुर्जामा उल्लेख भएका जग्गाधनीको नाम, कित्ता नम्बर र क्षेत्रफललगायत विवरण ध्यानपूर्वक जाँच गर्न आग्रह गरे।
प्रमाणपुर्जामा कुनै विवरण त्रुटिपूर्ण भए सम्बन्धित कार्यालयमा सम्पर्क गरी सच्याउन सकिने पनि उनले बताए। कार्यक्रममा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नं. ९ का वडाध्यक्ष शतिस हरिजन, नापी टोलीका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा जग्गाधनीहरूको सहभागिता रहेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend