जन आकाश
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको हो । उक्त प्याकेजको निर्माण कार्य चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खनन कार्य सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको छ ।
भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्ट ट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनाको उत्खनन तथा कङ्क्रिटिङ कार्य लगभग सम्पन्न भएको छ । मुख्य सुरुङको कङ्क्रिट लाइनिङ गर्ने कामसमेत अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिएका छन् ।
यसैबीच, भूमिगत विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम पनि अघि बढाइएको छ । विद्युत्गृहमा जेनेरेटर, टर्बाइन, सीसीटीभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा परीक्षण भइरहेको उनले बताए ।
त्यसैगरी, वातावरणीय बहावका लागि आवश्यक संरचना तथा बाँध सञ्चालन भवन निर्माणको काम पनि जारी रहेको छ ।
आयोजनाका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न हुँदै गर्दा उपकरण जडान र परीक्षणलाई समेत सँगसँगै अघि बढाइएको छ । प्याकेज–२ अन्तर्गतका संरचना तथा उपकरण निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ ।
१४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको यस आयोजनाको निर्माण सम्पन्न भएपछि नेपालको ऊर्जा उत्पादन क्षमतामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend