logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मेरो जग्गा हडप्नेलाई सर्वोच्चको न्यायाधीश बनाउन मिल्दैन’ : प्रस्तावित न्यायाधीश डाँगीविरुद्ध उजुरीकर्ताको आरोप


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका टंकराज न्यौपानेले जग्गा विवाद र धम्की दिएको आरोप लगाएका छन् । उनले आफ्नो जग्गा गैरकानुनी रूपमा हडपिएको दाबी गर्दै डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न नहुने जिकिर गरेका छन् ।



संसदीय सुनुवाइ समितिमा आफ्नो भनाइ राख्दै उजुरीकर्ता न्यौपानेले भने, ‘मेरो जग्गा खानेलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन मिल्दैन ।’

उनले साधारण निवेदनका आधारमा प्रस्तावित न्यायाधीश डाँगीका आफन्तहरूको नाम समावेश गरी जग्गा अधिग्रहण गरिएको आरोप लगाए । अधिग्रहण गरिएको भनिएको जग्गा न नगर विकास समितिलाई हस्तान्तरण गरिएको न आफूहरूलाई फिर्ता गरिएको भन्दै बेचेर खाएको उनको दाबी छ ।

उक्त जग्गा विवादमा आफूले अदालतबाट समेत न्याय नपाएको न्यौपानेले गुनासो गरेका छन् । उनका अनुसार कपिलवस्तु जिल्ला अदालतले सुरुमा वादी र प्रतिवादीको कुरा नसुनी दाबी नपुग्ने फैसला गरेको थियो । त्यसपछि उच्च अदालत तुलसीपुरले पनि जिल्ला अदालतकै फैसला सदर गरेको र अहिले उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उनले जानकारी दिए ।

यसैगरी, न्यौपानेले प्रस्तावित न्यायाधीश डाँगीका परिवारका सदस्यबाट आफूलाई धम्की आएको आरोपसमेत लगाएका छन् । विवाद मिलापत्र गर्न जाँदा डाँगीका दाजु दिनेश डाँगीले ‘मेरो भाइ सर्वोच्च अदालतमा गइसकेको छ, अब तँलाई जेल हाल्छु’ भन्दै धम्की दिएको उनको दाबी छ ।

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिले छलफल गर्ने क्रममा उजुरीकर्ता न्यौपानेलाई बोलाएर उनको भनाइ सुनेको हो । यद्यपि, उजुरीकर्ताले लगाएका आरोपबारे प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीको आधिकारिक प्रतिक्रिया यस विवरणमा समावेश छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend