जन आकाश
विनोद नेपाली
काठमाडौं । दैलेखको आठबीस नगरपालिका वडा नम्बर ६ मा यस वर्ष विकास निर्माणका विभिन्न आयोजनाका लागि उल्लेख्य बजेट विनियोजन भएको छ । सडक, खानेपानी, सिँचाइ, तटबन्ध, शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई समेटेर वडामा ३९ वटा आयोजना अघि सारिएको सार्वजनिक विवरणले देखाएको छ ।
वडा नम्बर ६ का अध्यक्ष नवराज शर्माले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार विभिन्न आयोजना तथा कार्यक्रमका लागि करिब ७ करोड ११ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ । यसमा सडक स्तरोन्नतिदेखि विद्यालय भवन निर्माण, खानेपानी आयोजना, सिँचाइ कुलो तथा धार्मिक संरचना निर्माणसम्मका योजना समेटिएका छन् ।
वडामा यसअघि भन्दा बढी बजेट र आयोजना भित्र्याउन सफल भएको दाबी गर्दै अध्यक्ष शर्माले विभिन्न टोल र बस्तीलाई समेटेर योजनाहरू ल्याइएको बताएका छन् । उनले बजेट उपलब्ध गराउन सहयोग गर्ने संघीय, प्रदेश तथा नगर सरकार र सम्बन्धित नेतृत्वप्रति आभारसमेत व्यक्त गरेका छन् ।
वडामा विनियोजित बजेटमध्ये सडक पूर्वाधारतर्फ विशेष प्राथमिकता देखिएको छ । भेल्तडी–तारापानी–रोल सडक निर्माणका लागि ५० लाख रुपैयाँ र खिड्किजिउला–राता हुँदै सिहासैनसम्म सडक स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, राकम–रोल सडक स्तरोन्नतिका लागि डेढ करोड रुपैयाँ, रोल–ताउनी सडक निर्माणका लागि १४ लाख र रोल–राकम सडक स्तरोन्नतिका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको विवरणमा उल्लेख छ । वडाभित्रका सडक सरसफाइका लागि समेत ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
खानेपानीतर्फ बाग्जेबेला खानेपानी निर्माण तथा मर्मतका लागि २० लाख, जुकेपानी–पैया खानेपानी आयोजनाका लागि २२ लाख, सुनखोला खानेपानी निर्माण तथा स्तरोन्नतिका लागि ७ लाख रुपैयाँ बजेट राखिएको छ ।
त्यसैगरी, ओखररुख, छापकाट्ना, ताउनी–बिरिया, बुगाडे–रोल र लम्धार–मुल्लारातालगायत क्षेत्रमा खानेपानी मर्मत तथा सुधारका योजनासमेत समावेश गरिएका छन् ।
सिँचाइ तथा नदी नियन्त्रणतर्फ ताउनी सिँचाइ योजनाका लागि २० लाख रुपैयाँका दुई छुट्टाछुट्टै शीर्षक, मानकोट–टाडु तटबन्धका लागि २० लाख रुपैयाँका दुई शीर्षक, कोलकाटे–चौला–घान्डेखोला सिँचाइ कुलो निर्माणका लागि १५ लाख र अमर्सेखेत सिँचाइ नहर निर्माणका लागि १२ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
शिक्षा क्षेत्रको पूर्वाधार विकासका लागि पनि उल्लेख्य बजेट विनियोजन गरिएको छ । गणेश माध्यमिक विद्यालय रोलमा चारकोठे भवन निर्माणका लागि ६० लाख रुपैयाँ छुट्याइएको छ । गणेश माविकै घेराबारका लागि ४० लाख र कार्यालय व्यवस्थापन तथा फर्निचरका लागि ६ लाख रुपैयाँ बजेट राखिएको छ ।
भैरव माध्यमिक विद्यालय राता क्षेत्रमा डिजिटल तथा बालमैत्री कक्षाकोठा व्यवस्थापन कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कालिका माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि १० लाख र मालिका आधारभूत विद्यालय ताउनीको भवन निर्माणका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको विवरणमा उल्लेख छ ।
त्यसैगरी, सिहासैन स्वास्थ्य चौकी भवन मर्मतका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र विकासलाई समेत योजनामा समेटिएको छ । कालिका मन्दिर टाडु निर्माणका लागि १० लाख, पादुका छुटगडी भैरव कालसैनी मन्दिरको धर्मशाला निर्माणका लागि २५ लाख, कलासिल्ला मन्दिर खड्केगडेनका लागि ४ लाख र निराग्ल मन्दिर निर्माणका लागि ५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
त्यस्तै, माल्या नैनेल मन्दिर, नैनेलथान चौतारा, वृद्धाश्रम तथा पिपल चौतारा निर्माण र पञ्चेबाजा खरिदका लागि समेत बजेट विनियोजन गरिएको छ ।
स्थानीयस्तरमा विकास निर्माणका योजनालाई प्राथमिकतामा राख्दै आएका वडाध्यक्ष नमराज शर्माले आफ्नो कार्यकालको अन्तिम चरणतिर आइपुग्दा पनि वडाको विकासका लागि थप आयोजना ल्याउन पहल गरिरहेको बताएका छन् ।
स्थानीयवासीसँग निरन्तर सम्पर्कमा रहने र राजनीतिक आग्रहभन्दा माथि उठेर जनताको आवश्यकता अनुसार काम गर्ने प्रयास गर्दै आएको उनको दाबी छ । यसपटक सार्वजनिक गरिएका योजनामा एउटै क्षेत्रलाई मात्र नभई विभिन्न टोल र बस्तीलाई समेट्ने प्रयास गरिएको देखिन्छ ।
यद्यपि, बजेट विनियोजन हुनु मात्रै विकासको पूर्णता होइन । विनियोजित बजेट समयमै निकासा हुनु, योजनाको प्रभावकारी कार्यान्वयन हुनु, गुणस्तरीय निर्माण हुनु र लक्षित समुदायले प्रत्यक्ष लाभ पाउनु अझ महत्त्वपूर्ण पक्ष हुन् ।
विशेषगरी सडक निर्माण तथा स्तरोन्नति, खानेपानी र सिँचाइका योजनामा गुणस्तर कायम राख्न नियमित अनुगमन आवश्यक देखिन्छ । विद्यालय भवन, स्वास्थ्य चौकी र धार्मिक संरचना निर्माणमा पनि पारदर्शिता तथा सार्वजनिक जवाफदेहिता उत्तिकै महत्त्वपूर्ण छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा गरेका काम र ल्याएका योजनाको विवरण सार्वजनिक गर्नु सकारात्मक पक्ष हो । तर नागरिकले बजेटको सूचीसँगै कुन आयोजना कति सम्पन्न भयो, कति रकम खर्च भयो र कति काम बाँकी छ भन्ने विवरणसमेत खोज्नु आवश्यक छ ।
आठबीस नगरपालिका वडा नम्बर ६ मा सार्वजनिक भएका यी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सके स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि उत्पादनमा उल्लेख्य सुधार आउन सक्ने अपेक्षा गरिएको छ । अब मुख्य प्रश्न बजेट कति आयो भन्ने मात्र होइन, आएको बजेटबाट जनताले कति विकासको अनुभूति गर्न पाए भन्ने हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend