जन आकाश
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको विषयलाई लोकतन्त्रका लागि शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सत्ताधारी दलभित्रका असमझदारी सार्वजनिक रूपमै छताछुल्ल हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले इतिहासमा राजनीतिक दलभित्र देखिएका यस्तै अन्तर्संघर्ष र विभाजनले मुलुक, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्याएको स्मरण गराएका छन् ।
भट्टराईले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच देखिएको गुटगत संघर्ष, २०४७ पछि कांग्रेसभित्रका ७४ र ३६ सांसद समूह तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको विवादलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधीबीचको विवाद तथा २०६४ पछि माओवादीभित्र संविधान निर्माण र जनविद्रोहको विषयमा देखिएको अन्तरविरोधले पनि देशलाई ठूलो नोक्सानी पुर्याएको उनको भनाइ छ ।
‘इतिहासमा यस्ता घटनाहरू हुँदा देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो भन्ने कुरा इतिहास साक्षी छ,’ भट्टराईले लेखेका छन् । उनले इतिहासबाट पाठ सिक्दै सत्तारूढ दल र सरकारले विगतका गल्ती नदोहोर्याउन आग्रह गरेका छन् । जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले पुराना राजनीतिक दलका कमजोरीबाट शिक्षा लिनुपर्ने उनको सुझाव छ ।
‘भनाइ पनि छ– इतिहास दोहोरिन्छ, किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन् । जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस् । बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्,’ भट्टराईले लेखेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend