logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मधेशमा नयाँ सत्ता समीकरणको तयारी, जसपा–एमाले र नेकपा मिलेर सरकार बनाउने सहमति


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार विस्थापित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । तीन दलबीच नयाँ सरकार गठन गर्ने सहमति जुटेको नेताहरूले बताएका छन् ।



नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीन दलबीच सरकार गठन गर्ने विषयमा सहमति लगभग टुंगिएको छ । अब सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा चाँडै निष्कर्ष निकालिने उनले बताएका छन् ।

उनका अनुसार नयाँ सत्ता समीकरणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच शीर्ष तहमै छलफल भएर सहमति बनेको हो ।

स्रोतका अनुसार नयाँ सरकारको नेतृत्व जसपा नेपालले गर्ने लगभग निश्चित भएको छ । जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ ।

गत असोज ३० गते नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव भने आफ्नो सरकार जोगाउने प्रयासमा छन् ।

यसअघि एमाले पुनः कांग्रेस नेतृत्वकै सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको थियो । त्यसका लागि कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समेत संवाद भएको थियो ।

तर, सरकारबाट बाहिरिसकेको अवस्थामा पुनः सोही सरकारमा फर्किँदा राजनीतिक रूपमा नकारात्मक सन्देश जाने भन्दै एमाले अध्यक्ष ओलीले त्यसमा रुचि नदेखाएपछि नयाँ सत्ता समीकरणको बाटो खुलेको बताइएको छ । तीन दलबीचको सहमति कार्यान्वयनमा आए मधेश प्रदेशमा नयाँ सरकार गठन हुने र वर्तमान सत्ता समीकरण विस्थापित हुने देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend