logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भोटेकोशी–त्रिशूली बाढीपीडितको पुनर्वासका लागि ३ हजार २७९ रोपनी जग्गा सिफारिस, ४४ स्थानमा पहिचान


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्न सरकारले जग्गा छनोटको प्रक्रिया अघि बढाएको छ । यसका लागि रसुवा, नुवाकोट र धादिङका ४४ स्थानमा रहेका करिब ३०० कित्ता जग्गा पहिचान गरी प्रारम्भिक सिफारिस गरिएको छ ।



नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा गठित समितिले पुनर्वासका लागि सरकारी, निजी, वन, विद्युत् प्राधिकरण तथा अन्य सरकारी निकायको स्वामित्वमा रहेको कुल ३ हजार २७९ रोपनी जग्गा सिफारिस गरेको हो ।

समितिले तयार पारेको प्रतिवेदन भूमि मन्त्रालयले कार्यान्वयनका लागि पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ ।

सिफारिस गरिएको जग्गामध्ये सबैभन्दा बढी नुवाकोटमा २ हजार ६६५ रोपनी रहेको छ । त्यस्तै, रसुवामा ५९१ रोपनी र धादिङमा २२ रोपनीभन्दा बढी जग्गा पहिचान गरिएको छ । पुनर्वासका लागि आवश्यक परे निजी जग्गासमेत अधिग्रहण गरेर विस्थापित परिवारलाई उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

जग्गा छनोट प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्यालको नेतृत्वमा अर्को समिति गठन गरिएको छ । उक्त समितिले रसुवा, नुवाकोट र धादिङमा तीनवटा उपसमिति परिचालन गरी स्थलगत अध्ययन सुरु गरेको छ ।

समितिले पुनर्वासका लागि छनोट गरिने स्थानमा खानेपानी, सडक र विद्युत्जस्ता आधारभूत सुविधा उपलब्ध हुने अवस्थालाई प्राथमिकता दिने जनाएको छ । साथै बाढी, पहिरो तथा भूक्षयको जोखिम कम भएका सुरक्षित स्थानलाई विशेष प्राथमिकतामा राखिनेछ ।

यसैगरी, विस्थापित परिवारको पुनर्वासलाई सहज बनाउन आवश्यक कानुनी प्रक्रिया र सम्बन्धित ऐन संशोधन गर्नुपर्ने विषयसमेत प्रतिवेदनमा समेटिएको छ ।

बाढीबाट घरबार गुमाएका परिवारलाई सुरक्षित आवास र व्यवस्थित बस्तीमा पुनर्स्थापना गर्ने सरकारी तयारीसँगै अब जग्गाको अन्तिम छनोट, आवश्यक पूर्वाधार निर्माण र पुनर्वासको कार्यान्वयन प्रक्रिया महत्वपूर्ण हुने देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend