logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसद् अधिवेशन र प्रभावकारी सञ्चालनबारे छलफल


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवनमा भएको भेटवार्तामा संसद्को अधिवेशन आह्वान, संसद् सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।



भेटका क्रममा सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

त्यस्तै, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपतिलाई अवगत गराएका थिए ।

भेटवार्तामा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयले समेत प्राथमिकता पाएको थियो । सभामुख अर्यालले विभिन्न राजनीतिक दलहरूसँग भएको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएका थिए ।

यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभा पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि उनले जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने धारणा राखेका थिए । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो व्यक्त गरेका थिए ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र संसदीय गतिविधिका विषयमा पनि छलफल भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend