जन आकाश
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई समयअगावै हटाउने सरकारको निर्णयले राजनीतिक दललाई समेत गम्भीर क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमको कार्यकालमा समयअगावै प्रहरी महानिरीक्षक परिवर्तन गर्दा उत्पन्न भएको राजनीतिक घटनाक्रम स्मरण गराएका हुन् ।
उनले त्यतिबेला आईजीपी परिवर्तन गर्ने निर्णय एमालेका लागि सुखद् नभएको उल्लेख गरेका छन् । प्रहरी महानिरीक्षकको पुनर्बहालीपछि एमालेले पार्टी विभाजनसम्मको गम्भीर पीडा भोग्नुपरेको उनको भनाइ छ ।
पोखरेलले रास्वपा नेतृत्वको वर्तमान सरकारले विगतको उक्त राजनीतिक घटनाबाट पाठ सिक्न नसकेको टिप्पणीसमेत गरेका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेको स्टाटस जस्ताको तस्तै :
“हिजो कमरेड वामदेव गौतम गृहमन्त्री रहेका बेला समयअगावै प्रहरी महानिरीक्षक परिवर्तन गर्दाको परिणाम नेकपा (एमाले) का लागि सुखद् रहेन । उसले प्रहरी महानिरीक्षकको पुनर्बहालीपश्चात् पार्टी विभाजनसम्मको गहिरो पीडासमेत बेहोर्नु परेको थियो । रास्वपा नेतृत्वको सरकारले उक्त तितो यथार्थबाट पाठ सिक्न सकेको देखिएन ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend