logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

राज्य व्यवस्था समितिको बैठक तत्काल बोलाउन कांग्रेसको माग, प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाउन आग्रह


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ।



समितिमा रहेका कांग्रेसका चार सांसदले शुक्रबार समिति सभापति हरि ढकाललाई पत्र पठाउँदै अविलम्ब बैठक बोलाउन माग गरेका हुन्।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १७८ अनुसार निवेदन पेस गर्दै उनीहरूले राज्यका निकायलाई संसद्प्रति जवाफदेही बनाउन तथा विवादित घटनाक्रमबारे आवश्यक छानबिन र निर्देशन दिन समितिको बैठक आवश्यक रहेको उल्लेख गरेका छन्।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सांसदहरू अर्जुननरसिंह केसी, निश्कल राई र रेखाकुमारी यादवले सरकार तथा राज्यका विभिन्न निकायसँग जोडिएका विवादित विषयमा छलफल गर्न माग गरेका हुन्। यसअघि विपक्षी नेकपा र राप्रपाका सांसदहरूले पनि समिति बैठक बोलाउन सभापति ढकाललाई पत्राचार गरिसकेका छन्।

कांग्रेस सांसदहरूले बिचौलिया इनम सापकोटा प्रकरणमा राज्य संयन्त्रको दुरुपयोग भएको, प्रहरी हिरासतमा रहेका व्यक्तिको फोन तथा अडिओ अनधिकृत व्यक्तिको पहुँचमा पुगेको र अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको विषयलाई मुख्य रूपमा उठाएका छन्।

त्यस्तै, अनुसन्धानका क्रममा रहेका व्यक्तिसँग सम्बन्धित प्रमाणमा अनधिकृत पहुँच पुर्‍याइएको तथा प्रमाण नष्ट गरिएको भनिएको विषयमा सत्यतथ्य छानबिन गर्नुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री वालेन्द्र शाह र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट रहेको दाबी गर्दै इनम सापकोटाले सार्वजनिक गरेका अभिव्यक्ति तथा गतिविधिबारे पनि स्पष्ट पार्नुपर्ने निवेदनमा उल्लेख छ।

यसैगरी, नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्नुको कारणबारे सरकार र गृह मन्त्रालयसँग जवाफ माग्नुपर्ने कांग्रेस सांसदहरूको माग छ। सरकारले बिहीबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्दै डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई पक्राउ गरिएको घटनाले स्वतन्त्र प्रेसको अधिकार र राज्यशक्तिको प्रयोगमाथि समेत प्रश्न उठाएको कांग्रेस सांसदहरूको भनाइ छ।

उनीहरूले यी सबै विषयमा छलफल गर्न प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई समितिको बैठकमा अनिवार्य उपस्थित गराई जवाफ माग्न सभापति ढकालसँग आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend