logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

राप्रपाले मंसिर ४ देखि १० गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गर्ने


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रमा रहेका योग्य सक्रिय सदस्यहरूमध्येबाट मंसिर ४ देखि १० गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो।



बैठकले यसअघि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा सामान्य संशोधन गर्दै स्वीकृत सक्रिय सदस्यहरूको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। प्रकाशित नामावलीमा कुनै त्रुटि भए मंसिर १ गतेभित्र दाबी–विरोध तथा नाम सच्याउन सकिनेछ।

त्यस्तै, छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको तस्बिरसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्ने राप्रपाले जनाएको छ।

यसैगरी, सक्रिय सदस्यताको नयाँ विवरण प्रविष्ट गर्ने प्रक्रिया बुधबार रातिदेखि बन्द भइसकेको छ। विवरण प्रविष्ट भएका सदस्यहरूले तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाइसक्नुपर्नेछ।

सदस्यताको आवेदनमा तस्बिर छुटेको भए सोही समयसीमाभित्र उपलब्ध गराउन पनि समितिले आग्रह गरेको छ। तोकिएको समयभित्र रकम नबुझाउने वा तस्बिर उपलब्ध नगराउने सदस्यको सक्रिय सदस्यता आवेदन अस्वीकृत हुने समितिले जनाएको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले महाधिवेशन प्रतिनिधि छनोटलगायतका प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिएका छन्। राप्रपाले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend