logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

ममता काफ्ले हत्या प्रकरण : शव टुक्रा पारेको नरेश भट्टको अदालतमा बयान


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टले अदालतमा बयान दिँदै ममताको शव टुक्रा पारेको स्वीकार गरेका छन्।



हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार अदालतमा बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई शयनकक्षको भुइँमा मृत अवस्थामा फेला पारेपछि शव व्यवस्थापन गर्ने क्रममा शरीरका विभिन्न भाग अलग्याएको बताएका हुन्।

भट्टका अनुसार ममताको मुख र भुइँमा वान्ता देखिएको थियो। वान्तामा रगत, खानाका टुक्रा, क्याप्सुल तथा कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेष रहेको उनले अदालतमा बताएका छन्।

उनले ममताको अवस्था देखेपछि छामेर हेरेको, बोलाउने प्रयास गरेको र सीपीआरलगायत जीवनरक्षक उपाय अपनाएको दाबी गरेका छन्। तर, त्यसपछि शव टुक्रा पार्ने निर्णयमा पुगेको उनको बयान छ। सुरुमा शरीरको तल्लो भाग अर्थात् खुट्टा अलग्याउने प्रयास गरेको पनि उनले बताएका छन्।

भट्टले शवलाई बाथरुममा लगेको तर शारीरिक रूपमा कमजोर महसुस भएकाले पहिलो दिन काम पूरा गर्न नसकेको बताएका छन्। त्यसपछि बेबी चेन्जिङ स्टेसनले शयनकक्षको ढोका छेकेर आफू छोरीको हेरचाहमा लागेको उनको भनाइ छ।

घटनापछिको रात आफू सुत्न नसकेको र डरका कारण पूजा कोठासमेत नगएको उनले अदालतमा बताएका छन्।

नरेश भट्टमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ। तर, ममता काफ्लेको शव अहिलेसम्म फेला परेको छैन।

ममता अमेरिकाको युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। उनी लामो समयसम्म काममा उपस्थित नभएपछि अस्पताल र परिवारको चासोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानको प्रारम्भिक चरणमा नरेशले श्रीमती बेपत्ता भएको विषय अस्वीकार गरेका थिए। तर, पछि उनीमाथि हत्या तथा शव लुकाएको अभियोग लगाइएको हो। घटनाको अनुसन्धान र न्यायिक प्रक्रिया जारी रहे पनि ममताको शव भने अझै फेला पर्न सकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend