जन आकाश
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी र कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
प्रधानमन्त्री शाह आजदेखि छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणमा जान लागेको सन्दर्भमा रिजालले भ्रमणको सफलताको शुभकामना दिँदै भ्रमणपूर्व अपनाइएको प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन्।
रिजालले भ्रमणअघि राष्ट्रपति तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग कुनै छलफल र परामर्श नगर्नु कूटनीतिक निरन्तरता र राष्ट्रिय सहमतिका दृष्टिले उचित नभएको टिप्पणी गरेका छन्।
उनले भारतमा रहेका लाखौँ नेपाली नागरिक तथा उनीहरूका संस्थाका प्रतिनिधिसँग नेपाली दूतावासमा भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम नराखिएको विषयमा पनि प्रश्न गरेका छन्।
त्यस्तै, नेपालमा भारतीय लगानी भित्र्याउने उद्देश्यले प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा निजी क्षेत्रका अगुवाहरू सहभागी भए पनि भारतीय उद्योगी तथा व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम नराखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
रिजालले देशभित्र सामान्य छलफलसमेत नगरेका प्रधानमन्त्रीले दीर्घकालीन महत्त्वका सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्ने नैतिक तथा राजनीतिक सामर्थ्य राख्छन् कि राख्दैनन् भन्ने प्रश्नसमेत उठाएका छन्।
आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न नसक्नु प्रधानमन्त्रीको व्यक्तिगत समस्या हो वा नेपाल सरकारकै नीति हो भन्दै उनले पाँचवटा जिज्ञासा सार्वजनिक गरेका छन्।
भ्रमणबाट के–कस्ता उपलब्धि हासिल हुन्छन् भन्ने कुरा पछि नै थाहा हुने भए पनि सुरुवातमै प्रधानमन्त्रीको कार्यशैलीले विभिन्न प्रश्न र जिज्ञासा उत्पन्न गराएको रिजालको भनाइ छ।
रिजालले सार्वजनिक गरेका पाँच प्रश्न यस्ता छन् :
१. भ्रमणअघि राष्ट्रपतिदेखि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग समेत कुनै छलफल र परामर्श भएन। कूटनीतिमा निरन्तरता र राष्ट्रिय सहमतिको ठूलो महत्त्व हुन्छ। संसद्मा रहेका दलहरूसँग परामर्श नगरी भारतसँग के गर्न खोजिएको हो?
२. भारतमा लाखौँ नेपाली नागरिक छन् र उनीहरूका विभिन्न संस्था क्रियाशील छन्। प्रधानमन्त्री भारत पुग्दा नेपाली दूतावासमा उनीहरूका प्रतिनिधिसँग भेटघाट र अन्तरक्रिया गर्दा के समस्या हुन्छ?
३. नेपालमा भारतीय लगानी भित्र्याउन निजी क्षेत्रका अगुवाहरूलाई प्रतिनिधिमण्डलमा सहभागी गराइए पनि भारतीय उद्योगी तथा व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम किन राखिएन?
४. देशभित्र सामान्य छलफलसमेत नगरेका प्रधानमन्त्रीले दीर्घकालीन महत्त्वका सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्ने नैतिक तथा राजनीतिक सामर्थ्य राख्छन् कि राख्दैनन्? यसबाट भविष्यमा थप विवाद सिर्जना हुन सक्ने भएकाले सबैले बेलैमा ध्यान दिनुपर्छ।
५. आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न तथा दोहोरो संवाद गर्न नसक्नु प्रधानमन्त्रीको व्यक्तिगत समस्या हो कि नेपाल सरकारकै नीति हो?
रिजालले प्रधानमन्त्री शाहको भारत भ्रमणको उपलब्धि मूल्याङ्कन गर्न बाँकी रहेको उल्लेख गर्दै भ्रमणको सुरुवाती तयारी र कार्यशैलीबारे भने गम्भीर प्रश्न उठाएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend