logo आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026
logo

आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026

दिल्ली उड्नुअघि प्रधानमन्त्री : ‘प्रिय कर्णाली! दसौँ राष्ट्रिय खेलकुद सफल आयोजनाका लागि शुभकामना’


  • जन आकाश
  • आइतबार, मंसिर ६ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि कर्णाली प्रदेशलाई शुभकामना दिएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आज ९आइतबार० दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिका सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री शाहले कर्णाली प्रदेशलाई सफलताका लागि शुभकामना दिएका हुन्।प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणका लागि आजै दिउँसो काठमाडौँबाट दिल्ली प्रस्थान गर्दै छन्।



त्यसअघि बिहान उनले फेसबुकमा लेखेका छन्, ‘घरेलु खेलकुदको सबैभन्दा ठुलो उत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण यसपटक तपाईंहरूको प्रदेशमा आयोजना हुँदै छ। कर्णालीले पहिलोपटक यति ठुलो खेलकुद महाकुम्भको आयोजना गर्दै छ। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्‌भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस्। प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना।’

यस्तो छ प्रधानमन्त्री शाहको पूरा शुभकामना

प्रिय कर्णाली,

घरेलु खेलकुदको सबैभन्दा ठुलो उत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण यसपटक तपाईंहरूको प्रदेशमा आयोजना हुँदै छ। यसको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मंसिर ८ गतेदेखि सुरु हुँदै छन्। राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनुहुनेछ।

कर्णालीले पहिलोपटक यति ठुलो खेलकुद महाकुम्भको आयोजना गर्दै छ। यस प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले तपाईंहरू नागरिकस्तरबाटै यस खेलकुदलाई साथ समर्थन गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म ९ वटा मात्र संस्करण आयोजना हुनु दुःखद पक्ष हो। अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्नेछ ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्‌भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस्। प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना।

जय कर्णाली

जय खेलकुद

जय जय नेपाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend