logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सात वर्षमा दुलही, १२ वर्षमा आमा


  • जन आकाश
  • बुधबार, जेष्ठ ३१ २०७४

छोरीको मगनी हुँदा खसी, कुखुरा काट्ने, रक्सी खाने चलन छ । त्यसैको लोभले पनि आमाबाबुले २–३ वर्षकै उमेरमा छोरीको मगनी स्वीकार गर्छन् र केटा पक्षले बिहे खर्च जुटाउना साथ दुलही लिन आइहाल्छन् । पाँचदेखि सात वर्षका बालिका दुलही भएर जान्छन् ।
 वसन्तप्रताप सिंह
बझाङ । कोटभैरव गाविसकी सुर्मा बादी भर्खर सात वर्षकी भइन् । अघिल्लो वर्ष नै सुर्माको सोही गाउँका राजु बादीसँग मगनी भइसकेको छ । १५ वर्षका राजुको परिवार विवाह खर्च जुटाउन लागिपरेको छ । राजुले भने, ‘विवाह खर्च जुटाइसकेका छैनौँ । खर्चको जोहो भए यही दसैँमा, नभए मङ्सिरमा बिहे हुन्छ होला ।’
सरकारले महिलाको बिहे गर्न उपयुक्त उमेर २० वर्षलाई मानेको छ । यौन, प्रजनन र स्वास्थ्यका हिसाबले ‘बिहेवारी २० वर्षपारि’ भन्ने नारा नै तय गरिएको दुई दशक पुग्न लागिसक्यो । तर, बझाङका बादी समुदायलाई न सरकारको नियम–कानुन थाहा छ । न त उपयुक्त बिहे गर्ने उमेरबारे नै जानकारी छ । यहाँ शताब्दीयौँ पुरानो समाजको झल्को दिने गरी कलिला काखेनानीहरूलाई दुलाहा–दुलही बनाइन्छ ।
भाँडाकुटी खेल्दै गरेको अवस्थामा भेटिएकी सुर्मालाई भने आफ्नो विवाह हुने कुरा थाहै रहेनछ । दसैँमा विवाह हुने र अघिल्लो वर्ष बोका काटेर उनको मगनी भएको कुरा छिमेकी संगीता बादीले सम्झाएपछि भने उनी तर्सिइन् । ‘नाइँ म त बिहे गर्ने होइन,’ उनले सवितासँग बालसुलभ पारामा कुरा गरिन्, ‘बिहे गर्दिनखोजे भने म त भागेर फुपूको घर जाने हो ।’
बझाङको जयपृथ्वी नगरपालिकामा रहेका ४१ परिवार बादीमा सुर्माकै उमेरका धेरैको विवाह भइसकेको छ भने कतिपयको चाहिँ मगनी भइसकेको छ । आठजना बालिकाको यसै वर्ष विवाहको तयारी गरिएको बादी समुदायकी अगुवा सबिता बताउँछिन् । ‘धेरैजसोको त ३–४ वर्षको उमेरमै मगनी भइसक्छ,’ उनले थपिन्, ‘मगनी भएपछि ७–८ वर्षकै उमेरमा विवाह गराइदिन्छन् । जति रोइकराइ गरे पनि कसैले सुन्दैनन् । यहाँको चलन नै यस्तै छ ।’ उनकै समुदायमा अरू ५–६ जना बालिकाको पनि गत वर्ष नै मगनी भइसकेको छ । खर्च जुटेपछि ती बालिकाको चाँडै बिहे गरिदिने तयारीमा छन् उनका अभिभावक । परम्परादेखि चलिआएकाले यो संस्कारलाई आफूहरूले पनि निरन्तरता दिएको बादीहरू बताउँछन् । ‘बाजे–बराजुका पालादेखि यस्तै चलेको हो । सरकारको नियम–कानुनबारे हामीलाई के थाहा ?’ थलाराका अमर बादीले भने, ‘हामीले पनि चलन कसरी छोड्न सक्छौँ र ?’
आर्थिक हिसाबले अति विपन्नभित्र पर्ने यो समुदायका बालबालिका विद्यालय नै जाँदैनन् । विद्यालय जान चाहनेहरूको पनि कलिलै उमेरमा विवाह गरिदिएपछि पढाइ छुट्छ । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने हुँदा कतिपयको प्रजनन स्वास्थ्यमा समेत समस्या देखिने गरेको स्थानीय कस्तुरी बादीले बताइन् । उनी भन्छिन्, ‘६–७ वर्षको उमेरमा बिहे गरेका बालिका १२–१३ वर्षको उमेरदेखि नै बच्चा जन्माउन थाल्छन् । वर्षैपिच्छे बच्चा जन्माएपछि तिनको शरीर कस्तो होला ?’ कलिलै उमेरमा विवाह हुनाले अधिकांश बादी महिलाको पाठेघर खस्ने, पिसाब चुहिने, हातखुट्टा सुन्निनेजस्ता समस्या भएको उनी बताउँछिन् ।
त्यसो त बादी समुदायमा परिवार नियोजनसम्बन्धी कुनै ज्ञान पनि छैन । त्यसैले उनीहरू कुनै योजना नगरी सन्तान जन्माउँछन् । तीमध्येकै एक हुन्– काली बादी । उनी २० वर्षको उमेरमा ४ वटा सन्तानकी आमा बनिसकेकी छिन् । काली थप्छिन्, ‘लोग्नेलाई बच्चा भए पुगिहाल्छ । जन्माउन, हुर्काउन कति दुःख हुन्छ भन्ने कसैले सोच्दैनन् । सानैमा बिहे हुन्छ । बच्चा पेटमा बसिहाल्छ, नपाई सुखै छैन ।’
माटोका भाँडा बनाएर र नाचगान गरेर जीविकोपार्जन गर्ने यस समुदायको परम्परागत पेसा लोप भएपछि बादीहरू मागेर खान बाध्य छन् । उचित खानपान, सरसफाइ र स्वास्थ्यसम्बन्धी सुविधाको अभाव रहेको यस समुदायका महिलाको आयु अन्य समुदायका महिलाको भन्दा निकै कम छ । २८ परिवारका करिब दुई सय ७० जनाको बसोवास रहेको थलारामा ६० वर्षमाथिका महिलाको सङ्ख्या एक मात्र छ भने ५० वर्षभन्दा माथिका महिला दुईजना मात्र रहेका छन् ।
बादी समुदायका मानिसको औसत आयुबारे आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि यहाँका अधिकांश मानिसको ४० देखि ४५ वर्षको उमेरमा नै मृत्यु हुने बादी अगुवा मदन बादी बताउँछन् । उनी भन्छन्, ‘५० वर्षभन्दा माथि बाँच्नेहरू एकदमै कम छन् । धेरैजसो ४०–४५ कै बीचमा बितेका छन् ।’ यस समुदायमा संस्कृतिकै रूपमा रहेको मदिराको कुलत पनि छिटो मृत्युको कारण हो भने अर्को मुख्य कारण बालविवाह नै हो । मदनले थपे, ‘मगनी हुँदा खसी, कुखुरा काट्ने, रक्सी खाने चलन छ । त्यसैको लोभले पनि केही आमाबाबुले २–३ वर्षकै उमेरमा छोरीको मगनी स्वीकार गर्ने गर्छन् । केटा पक्षले पैसा जम्मा भएपछि लिन आइहाल्छन् । कतिपय त चार–पाँच वर्षमै लिएर जान्छन् ।’
बादी समुदायको यो चलन रोक्न विभिन्न प्रयास भने नभएको होइन । कोटभैरव गाविसको बादीबस्तीबाट १० मिनेटको दूरीमा इलाकास्तरको प्रहरीचौकी छ । पाँच–छ वर्षको उमेरमै दूधेबालिकाको बिहे भइरहँदा प्रहरी मूकदर्शक भएर बस्छन् । थलारा प्रहरीचौकीका प्रहरी नायब निरीक्षक नारायण चन्द आफूहरूले धेरै प्रयास गरे पनि बादी समुदायमा प्रचलित यो परम्परा रोक्न नसकेको स्वीकार गर्छन् । ‘दुवै पक्षको कुरा मिलिसकेको हुन्छ । हाम्रो परम्परा बिथोल्न आउने भनेर उल्टै हकार्छन्,’ उनले भने, ‘यो त बालविवाह हो, कानुनले यसो गर्न मिल्दैन भनेर रोक्न जाँदा प्रहरीमाथि नै आक्रमणसमेत भयो ।’
कोटभैरवलाई बालविवाहमुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेको भए पनि बादी समुदायमा हुने यस्तो प्रचलनले गर्न नसकिएको कोटभैरव स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक धनबहादुर भट्टले बताए ।
(सञ्चारिका फिचर सेवा)
(वसन्तप्रताप, बझाङमा कार्यरत पत्रकार हुन् ।)



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend