logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

देशको दुर्दशा मकै पोल्नेको आवाज कसले सुन्छ


  • जन आकाश
  • बुधबार, चैत्र १४ २०७४

कृषि प्रधान देश ४ अर्वको भ्यागुता आयात गर्छ ।
स्वाभिमानको कुरा गर्छौ शरीरमा लगाउनेदेखि बच्चाका खेलौनासम्म विदेशबाट नै आयात गर्छौ ।
बालुवा चाल्ने, गिटी कुट्ने, मकै पोलेर जीविकोपार्जन गर्ने मेहनतिहरुको कुरा कस्ले सुन्छ ?
मान्छे मारेर किन नहोस् सत्तामा पुगेकाहरुकै कुरा सुन्छन् ।
यो हाम्रो प्यारो देश भनेर सबैले भनेको सुन्छौं, खोई कस्तो खालको प्यार गरिराखेका छन् । कृषि प्रधान देश भनेर जापानबाट कृषिको लागि प्रत्येक वर्ष अरबौं अनुदान लिँदै आएको ५०औं बर्ष भइसक्यो र पनि १२ महिना किसानले हड्डी घोटिउनजेल काम गर्दा ६ महिना खाना पुग्ने अनाज उत्पादन गर्न सक्दैनन् । कृषिको लागि विउ विजन, सित भण्डार, सिचाई, मल, बजारको व्यवस्था सिंहदरबारका कागजमा बग्रेल्ती भेटिन्छन् । तर गाउँमा जिल्लामा कृषि कार्यालयहरुमा थोत्रा कुर्सि र गफले किसानहलाई भुलाउन झुलाउन सक्ने फोस्रा कर्मचारी बाहेक यो प्रजातन्त्रको ६७ बर्ष गणतन्त्रको १२ वर्षमा अरु केही पनि किसानले पाएका भए त्यो किसान अमेरिकाको एउटा गाउामा पुगिसक्थ्यो होला । यो छ नेपाल देशको दुर्दसा ।
नेपालमा चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक गर्नको लागि भ्यागुता समेत भारतबाट ४ अर्वको बार्षिक आयात गर्ने देश हाम्रो नेपाल हो भनेर भन्दा कुन चाहिँ देशले हामीलाई कृषि प्रधान देश भनेर पत्याउला ? नपत्याए पनि नेपालका सत्तामा बस्ने शासक, कहिले सासु, कहिले बुहारीको पालो जसरी देश चलाउने उहिले देखि तालु खुइलेका अहिलेसम्म केश उम्रिनु नपर्ने यस्तैहरुले मात्रै नेपालका नाम च लेका अन्नपूर्ण रोयल सिंगे, एभरेष्ट, गोकर्ण रिसोर्ट, हायात होटल, सोल्टी, क्राउन प्लाजाजस्तामा कार्यक्रम राखेर गरिने कार्यक्रममा देशी विदेशीले चाख मानेर यस्तै मान्छेहरुको कुरा सुन्छन् । जसले देशको लागि एउटा सिन्को जोड्न सक्दैन तर ती सडकको पेटीमा बसेर मकै पोल्ने महेनती हातहरु, ग्रामीण भेगमा बसेर नेपाली मौलिक बस्तुहरु उत्पादन गर्ने मेहनती हातहरु र देशको संरचना बनाउन प्रयोग हुने कठिनकाम गिटी कुट्ने, ढुंगा फोर्ने ती मेहनती पाखुरा बजार्ने कर्मशील नेपालीहरुको कथा कस्ले सुन्ने ? व्यथा कसले बुझ्ने ? जसोतसो देश यसरी नै धानिराखेको छ ।
नेपालमा एउटा सियो पनि बन्दैन भनेर नेपालीलाई विदेशमा होच्याउने काम गरेकै छन् । सियोलाई चाइने धागो कारखाना बन्द गरेर बुटवलमा भग्नावशेष रमिता देखाइरहेको छ । नेपालको पहिलो उद्योग बिराटनगर जुटमिल निजीकरणको नाममा लगभग समाप्त हुन लागिसकेको छ । बाँसबारी छालाजुत्ता कारखाना स्थानमा बाँसबारी छ, छालाजुत्ता कारखानाको ठाउँमा हस्पिटल छ । बालाजु कपडा उद्योग, हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी मिल, भृकुटी कागज उद्योग, जनकपुर चुरोट कारखानालगायत देशका ठुला उद्योगहरुले विदा लिइसकेका छन् । तै पनि स्वाभिमानको कुरा खुब गजबले लगाउँदै पाउडरको दुध किनेर बनाएको चिया पिउँदै कृषि प्रधान देशको फुर्ति हामीले लगाउन छोडेका छैनौं । यस्तो छ व्यवहारिक पाटो ।
अशन, इन्द्रचोकमा पाइने सुकेका माछा, खुर्सानी, जिरा, मसलादेखि विशाल बजारमा पाइने इन्डियन लत्ता कपडा इण्डियाबाट ल्याउँछन् र भोटाहिटी, महाबौद्धमा बेच्न राखिएका चाइनामा बनेका कपडाका गोदाहरुले भरिएका छन् । थाइल्याण्डमा बनेको ब्राण्ड र सुइजरल्याण्डमा बनेको घडी, स्पोर्ट ट्याग सुट हामीलाई चाहिएर ल्याएको हो । त्यस्तै भोटेबहाल, सुन्धारामा पाइने इलेक्ट्रोनिक्सका विभिन्न थरीका तार केवल धेरै जति विदेशी उत्पादन हुन् । अरु त अरु नै भए एउटा सानो पंखा समेत हाम्रो देश नेपालमा उत्पादन छैन र पनि स्वाभिमानको कुरा गर्न छोडेका छैनौं र स्वाभिमानको कुरा मात्र गर्न सजिलो छ । काम गर्न पो चाहँदैनन् त काम गर्न अल्छी भएकैहरु देशका हर्ताकर्ता सुकिला मुकिला, अनि त्यसैको गलत देखासिखी चलनले हाम्रो स्वाभिमान कस्तो अवस्थामा पुग्ला !
मान्छे मारेर किन नहोस् त्यो सत्ता चाहियो सत्तामा पुगेपछि सान,मान, भत्ता, सबै पाइने तर त्यो उहिलेका तालु खुइलेकैहरुले मात्र त्यो अवसर पाउनुपर्ने अरु कुनै सफा चेहेरा, कालो कपाल पालेको, सफा मन भएको मान्छे सिंहदरबार त के जिल्लाको सदरमुकाम छेउछाउ पुग्यो कि टाउको झोलामा जिउ खोलामा यसरी बनाउँदैछन् वीर गोर्खाली देश ।
यही देशको मानिस जसले हजारौं हजार हत्या गरेर राजनीति नामबाट छुटकारा पाउँछ तर यही देशको अर्को व्यक्ति जो हेपिएको, चेपिएको, गाउँको कुनाको बल्लतल्ल अवसर पाएर उठ्न खोजेको हुन्छ त्यसैलाई सानाझिना मसिना मुद्धा मामला लगाएर फसाइन्छ र त्यही आधार बनाएर सबै अवसरबाट वञ्चित गरिन्छ । यसरी बनाइँदैछ हाम्रो देशको कानून ।
त्यस्तै तालु खुइलेकाहरुले जे बोले त्यो समाचार, जे लेखे त्यो कानून, जहाँ बसे त्यो स्वर्ग भनेर लेख्ने पत्रकार पनि हाम्रै देशका मान्छे गन्ने पत्रकार भनेर लेखिन्छ । तर गाउँको कुनाको झुपडीमा बसेर आफ्नो देशको माटोसँग लडिबुडी खेल्दै देशको कुना कुनाको संरक्षण गर्ने नेपालीहरुको कुरा गर्ने, लेख्ने,लेखक, पत्रकार यो देशका एकथरी मान्छेहरुले पत्रकार नदेख्ने, दलबाद, गुटवादले ग्रस्त परिरहेको देशमा मकै पोल्नेका आवाज कसले सुन्छ । हजारौं हजार युवा जनशक्ति लाम लागेर कोरिया, कतार, दुबई, मलेसिया जानबाट रोक्न नेपालमै रोजगारी दिन राष्ट्रियस्तरको उद्योग कसले खोल्छ ? प्रश्न उठाइरहेका छन् ती गिट्टी कुट्ने नेपालीहरुले, मकै पोलेर जीविकोपार्जन गर्नेहरुले, देशको अवस्था र मर्म मार्मिक बनिरहेको छ ।
यो देशको मर्म र भावनालाई बुझ्न सकिएन भने हामी नेपालीले लगाउने वीर गोर्खालीको नारा गोरखपुर नामक ठाउँ भारतमा विलय भएजस्तै हुन के बेर ? बेलैमा सोच्ने दिन आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend